
काठमाडौं ।
काभ्रेपलाञ्चोक जिल्लामा आईतवारदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयले यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएकोमा आईतवारदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेकाअनुसार कार्यालयबाट ई–पासपोर्ट सेवा सुरु गरेको हो। सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीका लागि मात्र उपलब्ध हुने कार्यालयले जानकारी दिएको छ।
ई–पासपोर्ट लिनका लागि घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने बताईएको छ।
यसका साथै कार्यालयले विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिईरहेको जानकारी दिएको छ।
प्रकाशित: १६ माघ २०७८, आईतवार