वैदेशिक रोजगारी सम्बन्धी गुनासो तथा उजुरी सुनुवाइ गर्न कल सेन्टर

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
वैदेशिक रोजगारी सम्बन्धी गुनासो तथा उजुरी सुनुवाइ गर्न कल सेन्टर
फाइल तस्बिर।

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो तथा उजुरी सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। २४ सै घण्टा सेवा उपलब्ध हुने कल सेन्टरको आइतबार मन्त्रालयमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे ।

मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारवाही गर्न सुरु गरिएको बताए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताए ।

वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना गरिएको कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्रालयले बताएको छ।

कल सेन्टरमा विदेशमा गएर समस्यामा परेका जो कोहीले गुनासो टिपाउन सक्नेछन् । मन्त्रालयका अनुसार उक्त गुनासोलाई मन्त्रालयले सकेसम्म छिटो समाधान गर्नेछ।

वैदेशिक रोजगार विषय सम्वन्धि समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्वरहरु ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ।

यसका साथै स्वदेश र विदेशबाट निशुल्क फोन, भाइवर, फेसवुकलगायत बिभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्रालयको भनाई छ।

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...