
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा कार्यरत रहेको बेलामा मोबाइल फोन प्रयोग गर्न र साथमा राख्न रोक लगाइएको छ।
अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी आवर’ को वेला ‘मोबाइल चलाउन मात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागले जानकारी दिएको छ।
त्यसैगरी काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ। विभागले सूचना नै जारी गरी ‘डेस्क ड्युटी आवर’ अवधिसम्म निजी मोवाइल नचलाउन निर्देशन दिएको हो।
आवश्यक परेमा ‘ल्याण्डलाइन र अफिसियल’ फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ। वरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर (डिओ) लाई ब्यक्तिगत मोबाइल प्रयोग भएनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ।
प्रशासनले कर्मचारीलाई अफिसियल सिम र मोबाइलको व्यवस्था मिलाउने र अध्यागमन डेस्क अफिसरबाहेकका कर्मचारीले भने अध्यागमनको काम कारवाहीलाई नियमन गर्न व्यक्तिगत तथा सरकारी फोन प्रयोग गर्न सक्ने गरि निर्णय भएको कार्यालयले उल्लेख गरेको छ।
डेस्क अफिसर बाहेक अन्य वरिष्ठ अध्यागमन अधिकृत तथा डिओ र एओले समन्वयन सहकार्य र अध्यागमनको काम नियमन गर्न व्यक्तिगत वा सरकारी फोन प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ।
प्रकाशित: १४ माघ २०७८, शुक्रबार