आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन इन्जिनियर सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह

  • Technology Khabar | १४ आश्विन २०८३, बुधबार
आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन इन्जिनियर सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरुलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।

प्रधानमन्त्री शाहले भने, “तपाईंहरु आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

प्रधानमन्त्रीले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरे।

छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ मानिस भएको उल्लेख गर्दै ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले कहिल्यै पनि घटना र व्यक्तिप्रधान कुरा नगर्ने बताए। ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले सदैव नयाँ ‘आइडिया’मा कुरा गर्ने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राखे।

सो छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरु तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा,  अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा राम लामाको उपस्थिति थियो।

प्रकाशित: १४ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार