
काठमाडौं ।
अमेरिकाले जासूसीको आशंकामा चीनको दूरसञ्चार सेवा प्रदायक चाइना यूनिकममाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकाको संघीय सञ्चार आयोग एफसीसीले चाइना यूनिकमको अमेरिका इकाईलाई काम गर्न दिने विरुद्धमा निर्विरोध मतदान भएको जानकारी दिएको छ।
उक्त निर्णय अनुसार चाइना यूनिकमले ६० दिनभित्र अमेरिकामा आफ्ना सेवा दिन बन्द गर्नुपर्ने हुन्छ। यसअघि गत वर्षको अक्टोबरमा अमेरिकाले चाइना टेलिकममाथि पनि अमेरिकामा सेवा प्रदान गर्नबाट प्रतिबन्ध लगाएको थियो।
यसबारेमा एफसीसीकी अध्यक्ष जेसिका रोजनवोर्सेलले भनिन्, ‘उक्त कम्पनीका विरुद्धमा थुप्रै प्रमाणहरु भेटिएका छन् र तिनीहरुकै आधारमा चीनका सरकार-सम्बद्ध दूरसञ्चार सेवा प्रदायकहरुले हाम्रो देशको दूरसञ्चार नेटवर्कमा सुरक्षा जोखिम उत्पन्न गर्नसक्ने चिन्ता बढेको हो।’
यस्तै चाइना यूनिकमले आफ्नो अमेरिकी इकाईले अमेरिकी नीति नियमअन्तर्गत रहेको राम्रो रेकर्ड रहेको र विगत २ दशकदेखि आफ्ना उपभोक्तालाई भरपर्दो साझेदारका रुपमा दूरसञ्चारसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको बीबीसीलाई बताएको छ।
वाशिङ्टनमा रहेको चिनियाँ दूतावासले भने यसबारेमा केही धारणा व्यक्त नगरेको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: १५ माघ २०७८, शनिबार