महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिने व्यक्ति विदेशबाट फर्कँदै गर्दा पक्राउ

  • Technology Khabar | १४ माघ २०७८, शुक्रबार
महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिने व्यक्ति विदेशबाट फर्कँदै गर्दा पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आज विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा विदेशमा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ।

टोलीले महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल भनिने मुक्तिनाथ खनाललाई स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

पक्राउ परेका खनालले एउटी महिलाको नग्न तस्बिर र भिडियो उनका श्रीमान् तथा आफन्तलाई पठाइदिने धम्की दिँदै ब्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ।

उनले वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ती महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएर म्यासेन्जरमा कुराकानी गर्ने क्रममा ललाइफकाई, धम्की र त्रास र प्रलोभनमा पारी ती महिलाको नग्न तस्बिर र भिडियो पठाउन लगाएको खुल्न आएको छ।

आरोपित खनालमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भएको र त्यसपछि फरार रहेकामा आज ब्यूरोको टोलीले पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि काम अगाडि बढाइएको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार