
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले स्थानीय तहमा खटाउने गरी स्वयंसेवी पर्यवेक्षक (भोलेन्टियर सुपरभाइजर) माग गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार र विभागबीच भएको समझदारी अनुसार ७५३ जना पर्यवेक्षक माग गरिएको हो।
सो समझदारी अनुसार सूचना तथा प्रसारण प्रविधिमा आधारित एकीकृत स्थानीय तह वस्तुस्थिति विवरण तयारीका लागि स्थानीय तहमा कम्तिमा १ महिनाका लागि स्वयंसेवी पर्यवेक्षक परिचालन गर्नुपर्ने छ। सोही आधारमा विभागले हाल स्वयंसेवी पर्यवेक्षकको रुपमा काम गर्न इच्छुकहरुको लागि आवेदन माग गरेको हो।
सो स्वयंसेवी पदमा आवेदन दिनका लागि सूचना प्रविधि विषयमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत, ल्यापटप तथा मोबाइल भएको हुनुपर्ने र युनिकोडमा नेपाली टाइपिङ गर्न सक्ने योग्यता हुनुपर्नेछ।
छनोटमा पर्ने आवेदकहरुले मन्त्रालयसँगको संयोजनमा विभागले खटाएको स्थानीय तहमा काम गर्नुपर्नेछ।
इच्छुक विद्यार्थीहरुले आगामी १० दिनभित्रमा आवेदन दिन सक्नेछन्। अन्तरवार्तामार्फत स्वयंसेवी पर्यवेक्षक छनोट हुने उल्लेख छ।
तपाईँपनि स्वयंसेवी पर्यवेक्षक बन्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर अनलाइनबाटै आवेदन दिनुहोस् ।
प्रकाशित: १३ माघ २०७८, बिहीबार