डेलका नयाँ दुई ल्यापटप बजारमा, टच डिस्प्लेसहितको टू-इन-वन ल्यापटप

Technology Khabar ८ भाद्र २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, ८ भदौ । डेलले (DELL) नेपाली बजारमा इन्सपाइरन सिरिजअन्तर्गतका दुई नयाँ डिभाइसहरु सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रमका बिच विद्यार्थी, उद्योगी तथा पारिवारिक दैनिक कार्यमा उपयोग हुने गरि नयाँ ल्यापटपहरु सार्वजनिक गरेको हो ।

डेलले इन्सपाइरन १३ ५००० टू इन वन (Inspiron 13 5000 2-in-1) तथा इन्सपाइरन १५ ५००० (Inspiron 15 5000) ल्यापटप सार्वजनिक गरेको हो । यी दुई डिभाइसहरु कम्पनीको अवार्ड विजेता लाइनअन्तर्गतका आविश्कारिक उत्पादनहरु भएको कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा भित्र्याईएका दुबै डिभाइसहरुमा विभिन्न प्रोसेसर अप्सन, फिचर अप्सन राखिएको बताईएको छ ।Dell Laptops_IMG_5561

“हाम्रा नयाँ इन्सपाइरन डिभाइसहरुसँग खरिदकर्ताहरुले काम गर्न तथा उनीहरुले चाहेको बेलामा खेल्न सक्छन्,” कम्पनीका रेस्ट अफ एशिया प्यासिफिक, कन्ट्रि म्यानेजर, अहाद हकले भने, “डेलको आविश्कारिक प्रविधिले तपाईँको सिर्जनालाई वास्तविकतामा बदल्न सहयोग पर्दछ । हाम्रा खरिदकर्ताहरुले हामीलाई सँगै उत्प्रेरित गर्दछन् ।”

इन्सपाइरन १३ ५०० टू-इन-वन ल्यापटपहरु स्लीक डिजाइनको

डेल इन्सपाइरन १३ ५०० टू इन वन (Inspiron 13 5000 2-in-1)

कम्पनीले ल्याएको इन्सपाइरन १३ ५०० टू-इन-वन ल्यापटपहरु स्लीक डिजाइनको रहेको छ । यसमा इन्फ्रारेड क्यामरा छ जसले विण्डोज हेलो फेसियल रिकोग्निसनका साथमा कार्य गर्दछ । त्यसैगरी यसमा ब्याकलिट किबोर्ड अप्सन राखिएको छ । यो ल्यापटपलाई ट्याबलेटको मोडमा राखेर पनि काम गर्न सकिन्छ । यसमा फूलएचडी टच डिस्प्ले तथा १६ जीबीसम्मको र्याम राखिएको छ ।

डेल इन्सपाइरन १५ ५००० (Inspiron 15 5000)

विण्डोज हेलो फीचर उपलब्ध

कम्पनीले सार्वजनिक गरेको अर्को ल्यापटप हो इन्सपाइरन १५ ५००० । यो सिरिजको ल्यापटपहरुमा १५ इन्चको फूलएचडी टच डिस्प्ले छ भने इन्टेल वा एएमडी मोडलमा विण्डोज हेलो फीचर उपलब्ध छ । यसको इन्टेल भर्सनमा भने टूकलर फीचर छ जसले तस्विर तथा भिडियोलाई अझ आकर्षक र वास्तविकताको नजिकबाट देखाउँछ । यो ल्यापटप ग्रे, ह्वाइट तथा ब्ल्याक कलर अप्सनमा उपलब्ध छ ।

दुबै ल्यापटपहरु नेपाली बजारका लागि सार्वजनिक गरिएपनि कहिलेदेखि बजारमा आउँछ भन्ने स्पष्ट छैन् । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा बजारमा आगामी दिनहरुमा आउने मात्र उल्लेख गरिएको छ भने यसको बजार मूल्य पनि थाहा हुन सकेन् ।

यसैबिच डेलले नेपाली बजारमा ल्याएको नयाँ ल्यापटप सार्वजनिक गर्ने कार्यक्रममा नेपाली ब्लगर तथा प्रविधी लेखकहरुलाई रोक लगाएको छ। पहिले औपचारिक ईमेलसहित कार्यक्रममा निम्ता गरेपनि फोनमार्फत ब्लगर तथा प्रविधी लेखकहरुलाई मात्र कार्यक्रममा नआउन आग्रह गरिएको थियो । त्यसैले यो ल्यापटपको थप विशेषताहरु, यसको कार्य क्षमतालगायतका विषयमा थप जानकारी उपलब्ध हुन सकेन् ।

प्रकाशित: ८ भाद्र २०७३, बुधबार

तपाइको प्रतिक्रिया