विद्यालयमा प्रविधिमैत्री ‘आईटी स्मार्ट’ सिकाइ

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
विद्यालयमा प्रविधिमैत्री ‘आईटी स्मार्ट’ सिकाइ

काठमाडौं ।

प्रवधिमैत्री ‘आईटी स्मार्ट’ विद्यालयका कारण शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीको सर्वोदय माध्यमिक विद्यालयमा सञ्चालित प्रविधिमैत्री ‘आईटी स्मार्ट’ विद्यालयका कारण शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्दै गएको हो।

हरेक प्रदेशमा एउटा प्रविधिमैत्री विद्यालय बनाउने सरकारी लक्ष्यअनुसार २०७६ सालमा सो विद्यालय छनोटमा परेकोे थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिमैत्री विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि सामुदायिक विद्यालयलाई प्रस्ताव आह्वानपछि सो विद्यालय सुदूरपश्चिम प्रदेशबाट पहिलो प्रविधिमैत्री (आईटी स्मार्ट) विद्यालयका रूपमा छनोटमा परेको थियो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो प्रविधिमैत्री विद्यालयका रूपमा सो विद्यालय छनोटमा गरेपछि विद्यालयमा कम्प्युटर, स्मार्ट बोर्ड, प्रोजेक्टर, साउन्ड सिस्टम, तीव्र गतिको इन्टरनेट जडान गरिएको छ।

विद्यालयका हरेक कक्षाकोठामा कम्प्युटर, स्मार्ट बोर्ड, प्रोजेक्टर, साउन्ड सिस्टम र इन्टरनेट जडान गरिएको थियो। विद्यालयमा दुईवटा कम्प्युटर ल्याबसमेत रहेका छन्। जसमा ४५ जना विद्यार्थीले एक साथ कम्प्युटर विषयको प्रयोगात्मक कक्षा गर्न सक्छन्। जसका कारण विद्यार्थीलाई प्रविधिको प्रयोग गरी पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलाप सहज र प्रभावकारी बन्दै गएको विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीले बताए।

विगतको शिक्षण सिकाइ पद्धतिभन्दा प्रविधिमैत्री शिक्षणका कारण चाहेको विषयवस्तु तत्काल इन्टरनेटमार्फत खोजेर सिकाउन सजिलो भएको प्रधानाध्यापक चौधरीले बताए। उनले भने, “कहिलेकाहीँ शिक्षक बिदामा बसेको समयमा विद्यार्थी स्वयंले इन्टरनेटको माध्यमबाट चाहेको विषयवस्तुु खोजेर पढ्ने बानीको विकास भएको छ, जसका कारण शिक्षण सिकाइ कार्य प्रभावकारी बनेको छ।”

विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू भएपछि प्रभावकारी पठनपाठनका साथै विद्यार्थीको आकर्षणसमेत बढेको छ। विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू नभएको समयमा १५० जना विद्यार्थी भएकामा हाल विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ४०० पुगेकोसमेत प्रधानाध्यापक चौधरीले बताए ।

विगतभन्दा अहिले पठनपाठनमा सहज हुनुका साथै विद्यार्थीलाई विषयवस्तु बुझाउन सहज भएको विद्यालयका शिक्षक रघुनाथ चौधरीको बुझाइ छ। विगतको शिक्षक केन्द्रित विधिको तुलनामा प्रविधिमैत्री शिक्षाका कारण विद्यार्थी केन्द्रित विधिको विकास भएको छध्र जसका कारण शिक्षकलाई शिक्षण गर्न र विद्यार्थीलाई विषयवस्तु बुझ्न सहज भएको शिक्षक चौधरीले बताए ।विगतको समयमा विद्यार्थीले कुनै प्रश्नको जवाफ माग्दा आफूले नजानेको कुरा भोलि भन्छु भनेर विद्यार्थीलाई जवाफ दिनुपर्ने बाध्यता अब हटेको शिक्षक चौधरीको भनाइ छ।

विद्यालय प्रविधिमैत्री भएपछि आफूलाई ज्ञान नभए पनि विद्यार्थीले राखेको जिज्ञासा इन्टरनेटमार्फत सजिलै सामाधान गर्न सकिने भएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो सूचना प्रविधिमैत्री ‘आईटी स्मार्ट’ सामुदायिक विद्यालयमा परम्परागत पठनपाठनलाई हटाएर डिजिटलमय बनाइएको छ।

जसमा डिजिटल विषयवस्तुको माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराइने भएकाले विद्यार्थीले पनि पढेको कुरा सजिलै बुझ्ने गरेको विद्यार्थीले बताएका छन्। विषयवस्तु डिजिटल बोर्डमार्फत भिडियोसहित पढ्न पाउँदा रमाइलो पनि लाग्ने र पढेको विषय सजिलै बुझ्ने गरेको सोही विद्यालयको कक्षा १० मा पढ्ने विद्यार्थी पुनम नेपालीले बताए।

२०३७ सालमा स्थापना भएको सो विद्यालयले २०४६ सालमा जिल्ला शिक्षा कार्यालय कैलालीबाट कक्षा १ को स्वीकृति प्राप्त गरेको थियो। विद्यालयले २०६८ देखि माध्यमिक तहको पढाइ सञ्चालन गर्दै आएको छ। गोरखापत्र

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • ११ माघ २०७८, मंगलवार