हेलो सरकारमा राष्ट्रिय सूचना प्रविधि केन्द्र सम्बन्धित सबैभन्दा बढी गुनासा

  • Technology Khabar | १० माघ २०७८, सोमबार
हेलो सरकारमा राष्ट्रिय सूचना प्रविधि केन्द्र सम्बन्धित सबैभन्दा बढी गुनासा

काठमाडौं ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ।

हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनासा दर्ता भएका छन् ।

सरकारले २०७७ माघमा सुरु गरेको नागरिक एप नचलेको–नखुलेको विषयमा गुनासो आएको पाण्डेले बताए। उनले भने, “नागरिक एप सुरु भएपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रप्रति गुनासो सर्वाधिक छ । नागरिक तहबाट आएका गुनासा तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।”

नागरिकले फोन र सामाजिक सञ्जालमार्फत उजुरी दिन पाउने र सरकारबाट त्यस्ता समाधान गरिने अभिप्रायले सुरु गरिएको हेलो सरकारमा २०७६ साउन १ यता १६ हजार ४८ वटा गुनासा दर्ता भएका छन् । तीमध्ये १० हजार २९४ वटा उजुरी हेलो सरकार कक्षबाटै फर्स्योट भएका छन् । कुल उजुरीका आधारमा यो ६४.१५ प्रतिशत हो । सम्बन्धित निकायबाट समाधान भएका गुनासोको सङ्ख्या ३१२ छ ।

पाण्डेका अनुसार विभिन्न सरकारी निकायबाट दुई हजार ३९४ वटा गुनासाको अनुसन्धान भइरहेको छ । सम्बन्धित निकायबाट हेरिए पनि कारबाही प्रक्रियामा नगएका गुनासा एक हजार ४२१ रहेको जानकारी दिँदै उनले एक हजार ६२७ वटा उजुरी सम्बन्धित निकायबाट नहेरिएको बताए।

त्यसैगरी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित एक हजार ४१, नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ५९८, नेपाल टेलिकमसँग सम्बन्धित ४२८, यातायात व्यवस्था विभागसँग सम्बन्धित ३८६ र काठमाडौँ महानगरपालिकासँग सम्बन्धित ३२५ वटा गुनासा हेलो सरकारमा दर्ता भएको पाण्डेले बताए।

स्थानीय तहप्रति गुनासोको चाङ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कविता फुँयालका अनुसार २०७६ साउन १ देखि देशभरका सबै स्थानीय तहलाई हेलो सरकारको गुनासो पोर्टलमा आबद्ध गरिएको छ । सर्वसाधारणले स्थानीय तहका हरेक गतिविधिको उजुरी दिने व्यवस्था उक्त पोर्टलमार्फत मिलाइएको छ।

आर्थिक वर्ष २०७७/७८ मा स्थानीय तहसँग सम्बन्धित एक हजार १०४ वटा गुनासा हेलो सरकारलाई प्राप्त भएको प्रमुख पाण्डेले बताए । तीमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित ९६ वटा छन् । तीमध्ये २५ वटा गुनासा फस्र्योट भएको उहाँले बताउनुभयो ।

काठमाडौँसँगै ललितपुर, चितवनको भरतपुर, पोखरा, वीरगञ्ज महानगरपालिका तथा जनकपुर, इटहरी, हेटौँडा, बुटवलसहितका उपमहानगरपालिकामा भ्रष्टाचार, विकास निर्माणमा ढिलाइ तथा नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने मागसहितको गुनासो दर्ता भएका छन् । हेलो सरकार कार्यालयका अनुसार महानगर, उपमहानगरदेखि नगरपालिका र गाउँपालिकासम्म भ्रष्टाचार भएको गुनासा आउने गरेका छन् । गोरखापत्र

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार