सेल जूमिङ रणनीतिमार्फत् मोबाइल टावरको उर्जा खपत कम गर्न सकिने: अध्ययन

  • Technology Khabar | ९ माघ २०७८, आईतवार
सेल जूमिङ रणनीतिमार्फत् मोबाइल टावरको उर्जा खपत कम गर्न सकिने: अध्ययन

काठमाडौं ।

मोबाइल प्रयोगकर्ता कम भएका बेला सेल जूमिङ प्रविधिमार्फत् बेस स्टेशनले खपत गर्ने उर्जामा कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ।

इनर्जी नेक्सस नामक उर्जा जर्नलमा प्रकाशित भएको ‘इनर्जी सेभिङ इन फाइभजी मोबाइल कम्युनिकेशन थ्रु ट्राफिक ड्रिभन सेल जूमिङ स्ट्राटेजी’ नामक अनुसन्धान प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ।

यो अनुसन्धानले मोबाइल नेटवर्कले खपत गर्ने उर्जा कम गर्नका लागि अपनाउन सकिने प्रयोगकर्ताको चापमा आधारित अर्थात् ट्राफिक ड्रिभन सेल जूमिङ प्रविधिको प्रस्ताव तथा मूल्याङ्कन गरेको नेपाल टेलिकमका वरिष्ठ इन्जिनीयर मधुसुदन दाहालले गरेको अध्ययनमा उल्लेख छ।

यसमा प्रस्ताव गरिएको अल्गोरिदमले शुरुमा कुनै समयमा कुनै निश्चित क्षेत्रमा रहेका प्रत्येक बेस स्टेशन टावरमा जोडिएका प्रयोगकर्ताको सङ्ख्या मापन गर्दछ। यसपछि कम प्रयोगकर्ता रहेका टावरलाई बन्द गरेर त्यसका प्रयोगकर्तालाई समेत सेवा दिने गरी बाँकी टावरहरुको सिग्नल बढाइन्छ।

यो प्रक्रिया अपनाउँदा प्रयोगकर्ताका आधारमा कतिओटा टावर बन्द गर्ने भन्ने यकिन गरेर सेवाको गुणस्तर नखस्कने गरी बाँकी टावरको ट्रान्स्मिट पावर अर्थात् प्रसारण क्षमता अभिवृद्धि गरिन्छ।

अध्ययन प्रतिवेदनमा यो प्रस्तावित अल्गोरिदम बिजनेस एज युजुअल अर्थात बीएयूसँग तुलना गरिएको र यसबाट सेवाको गुणस्तरमा कुनै सम्झोता नगरी उर्जा खपत गर्न सक्षम भएको उल्लेख छ।

‘ट्राफिक ड्रिभन सेल जूमिङले उर्जा खपत मात्र घटाउने नभई लोड इम्ब्यालेन्स अर्थात् चापमा आउने असन्तुलनको समाधानका रुपमा पनि काम गर्छ’, प्रतिवेदनमा उल्लेख छ।

काठमाडाैंका ग्रामीण भेगमा रहेका मोबाइल टावरहरुलाई आधार मानेर यो अध्ययन गरिएको बताईएको छ।

यो अध्ययनमा मुख्यगरी कम प्रयोगकर्ता भएको समयमा सेल जूमिङ पद्धतिमार्फत् उर्जा खपतको मापन गरिएको थियो भने साथमा यस्तो बेला प्रत्येक बेस स्टेशन टावरले खपत गर्ने फजुल उर्जाको परिमाणसमेत आकलत गरिएको थियो।

प्रस्तावित ट्राफिक ड्रिभन सेल जूमिङ रणनीतिको अल्गोरिदमले ७९५ वाटसम्मको उर्जा खपत कम गरेको यो पाइलट परीक्षणमार्फत् पाइएको छ।

यसरी आकलन गरिएको उर्जा खपतको आँकडाले ५ ओटा बेस स्टेशन टावरहरुको समूहमा स्टेटिक सेल जूमिङको तुलनामा २० प्रतिशतसम्म उर्जा खपत कम गर्ने पाइएको छ।

सेल जूमिङको प्रदर्शन दुई प्रकारले गर्न सकिने बुझिएको छ। यीमध्ये पहिलो समयमा आधारित टाइम एडप्टिभ पिरियडिक अपडेट टीएपीयू र अर्को लोकेशन एडप्टिभ पिरियडिक अपडेट एलएपीयू हुन्। अध्ययनका क्रममा उर्जा बचत क्षमता, आउटेज रेशियो तथा अपडेट मेसेजको सङ्ख्यालाई मध्यनजर गरिएको हुन्छ।

ग्रीन वायरलेस कम्युनिकेशनमा विद्यावारिधि गरेका दाहालले उक्त अनुसन्धान बेलुकी ९ बजेदेखि बिहान ८ बजेसम्मको समयमा गरिएको र यसबाट २० प्रतिशत उर्जा खपत कम हुने पाइएकोले ‘ग्रीन सेलुलर नेटवर्क’ को अवधारणा प्रभावकारी रुपमा लागू हुनसक्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।

यस्तो थियो परीक्षणको नतिजा

काठमाडाैंमा रहेका बेस स्टेशनहरुमा गरिएको उक्त परीक्षणपश्चात् सेल जूमिङअघि ५ ओटा टावर सञ्चालन भएकामा सेल जूमिङ लागू गरेपछि ४ ओटामा झरेको थियो।

५ ओटा टावरले २०० मि रेन्जमा आफ्ना सिग्नल दिइरहेकामा एउटा बन्द गरेपछि बाँकी टावरको सिग्नल प्रसारण क्षमता ३५० मिटरसम्म बढाइएको थियो।

यसरी हेर्दा प्रत्येक टावरले कम्तीमा ७९५वाट उर्जा खपत गरिरहेकामा सेल जूमिङअघि ३,९७५ रहेकामा सेल जूमिङपछि घटेर ३,१८० वाटमा झरेको थियो। यसो गर्दा उक्त क्षेत्रका ५ बेस स्टेशन टावरको समूहमा उक्त समयमा ७९५ वाट उर्जा खपत कम भएको पाइएको थियो।

तर उर्जा खपत कम भए पनि ती टावरहरुले दिने सेवाको गुणस्तरमा कुनै कमी आएको थिएन। सेल जूमिङअघि ५ ओटा टावरले १२०९+४०६ गरी १, २१५ यूजरको ट्राफिक लोड लिइरहेकामा सेल जूमिङको प्रयोगपछि यो लोड ४ ओटा टावरले थामेको र त्यसमा लोड घट्नुको साटो १,६१२ पुगेको परीक्षणका क्रममा पाइएको छ।

यस्तै उक्त समयमा सेल जूमिङअघि र सेल जूमिङपछि टावरको सङ्ख्या घटेकोमा पनि मोबाइलको उपलब्धता प्रतिशतमा कुनै कमी नआएको पाइएको थियो।

सेल जूमिङको महत्व

यो अनुसन्धान वास्तविक बेस स्टेशन टावरमा रियल टाइममा हुने ट्राफिक सङ्ख्यामा आधारित रहेको छ। यो पाइलट परीक्षणले ट्राफिक ड्रिभन सेल जूमिङ प्रयोग हुनुअघि र भएपछिको उर्जा खपतको अन्तरलाई प्रस्ट्याएको छ।

सामान्यतया: प्रयोगकर्ता वृद्धि भएका बेला बेस स्टेशन टावरको उर्जा खपत बढ्छ भने प्रयोगकर्ता कम हुँदा स्वभावैले उर्जा खपत घट्छ। उर्जा खपतको यही उतारचढावको सन्तुलनका लागि सेल जूमिङको महत्व रहेको हो।

यसबाट उर्जा खपत घटाउनमा सकारात्मक प्रभाव पाइएको छ। कम प्रयोगकर्ता भएका बेला नेटवर्कको स्रोतसाधन खासै प्रयोगमा आउँदैनन् तर बेस स्टेशन चालु राख्नका लागि प्रयोग हुने उर्जा भने उत्तिकै मात्रामा खपत भइरहेको हुन्छ।

एउटा टावरबाट थोरैमात्र उर्जा खपत कम गर्न सकेमा पनि समग्र मोबाइल नेटवर्कबाट उल्लेख्य मात्रामा उर्जा खपत कम गर्न सकिने आकलन गरिएको छ।

यसरी फजुल उर्जा खपतलाई रोकेर ‘ग्रीन कम्युनिकेशन’ लाई आत्मसात् गर्नसके यसले वैश्विक वातावरणलाई केही टेवा पुर्याउने र दूरसञ्चार सेवा प्रदायकहरुलाई आफ्ना पुँजी तथा सञ्चालन खर्च कटाैती गरी नाफमूलक र दिगो व्यवसाय सञ्चालनतर्फ अग्रसर गराउन मद्दत गर्ने अध्ययन प्रतिवेदनको दाबी छ।

यो अनुसन्धान प्रतिवेदन www.sciencedirect.com मा प्रकाशित छ।

प्रकाशित: ९ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार