
काठमाडौं ।
नगदे बाली तथा कृषि उत्पादनको मुख्य जिल्ला मानिने इलाममा सञ्चालन गर्न लागिएको कृषि क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएको छ। क्याम्पस सञ्चालनको सम्बन्धन पाएसँगै अब विद्यार्थीले स्नातक तहमा कृषि सम्बन्धी अध्ययन गर्न पाउने भएका छन्।
इलाम नगरपालिकाले सञ्चालनको तयारी गरेको सामुदायिक कृषि क्याम्पसमा पढाइ सुरु गर्न प्रक्रिया थालिएको क्याम्पस प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले बताए। “विद्यार्थीलाई भर्नाका लागि अनलाइन आवेदन खुलाइएको छ, विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय र कृषि क्याम्पसको वेभसाइटबाट आवेदन दिन सक्नेछन्,” क्याम्पस प्रमुख श्रेष्ठले भने, “ माघ १२ सम्म आवेदनको समय छ, चाँडै प्रवेश परीक्षा गरेर पढाइनै सुरु गर्ने तयारीमा छौं ।”
४८ जना विद्यार्थीलाई बिएस्सी एजी पढाउने तयारी गरेको नगरपालिकाले प्रयोगशाला, पुस्तकालय र स्मार्ट कक्षा तयार गरिसकेको छ।
नयाँ ढङ्गले सञ्चालन गर्न लागिएको क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर गरी चारवटा सङ्काय हुने क्याम्पस व्यवस्थापन समिति अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए।
विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका र मान्यता प्राप्त सीटीभीटीबाट तालिम लिएका विद्यार्थीले अध्यययन गर्न पाउने छन् । अन्यतिर रहेका कृषि क्याम्पसभन्दा यहाँ सामुदायिक भएकाले केही सस्तो शुल्कमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् भन्ने अपेक्षा लिइएको छ ।
क्याम्पसको व्यवस्थापनका लागि सुरुमा दश लाख र पुनः २५ लाख थप गरी ३५ लाख रुपियाँको कोष तयार गरिएको छ। उक्त रकमले नपुग्ने हुँदा नगरपालिकाले थप खर्च व्यवस्थापन गर्ने जनाइएको छ । यहाँ अध्ययन गर्ने एक विद्यार्थीले पढाइ पुरा गर्दा चार लाख रुपियाँ खर्च गर्नुपर्ने छ।
स्थानीय सरकारले सञ्चालन गरेको यो कृषि क्याम्पस पहिलो भएको क्याम्पस प्रमुख श्रेष्ठले बताए। गोरखापत्र
प्रकाशित: ७ माघ २०७८, शुक्रबार