नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाईमार्फत द्रूत गतिको डाटा तथा भ्वाइस सेवा दिने

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाईमार्फत द्रूत गतिको डाटा तथा भ्वाइस सेवा दिने

काठमाडौं ।

एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रूत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिइ नमस्ते वाईफाई विस्तार गर्ने भएको छ।

कम्पनीले फोरजी एलटिइ नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ।

कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ।

२०७८ माघ ५ गते बुधबार सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।

फोरजी एलटिइ नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र सरकारी संस्था प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ।

व्यक्तिगत प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि रु. ९००० मा ७२० जीबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिने कम्पनीको भनाई छ।

टेलिकमकाअनुसार होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ। त्यसैगरी १ वर्षका लागि रु. १३,५०० मा १,४४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिन्छ।

यसैगरी सरकारी संस्था प्याकेजमा रु. ३,६५० र रु. २,१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ।

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको टेलिकमले जनाएको छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...