
काठमाडौं ।
एप्पलले पुन: एक पटक एप स्टोरमा तेस्रो पक्षका वैकल्पिक भुक्तानी सेवा प्रदायकलाई मान्यता दिने भएको छ।
रोयटर्सका अनुसार नेदरल्याण्ड्स अथोरिटी फर कन्जुमर एन्ड मार्केट्सले टिन्डर तथा अन्य स्थानीय डेटिङ एपमा तेस्रो पक्ष भुक्तानी सेवा प्रदायकलाई मान्यता दिनुपर्ने नीति ल्याएकामा त्यसलाई एप्पलले स्वीकार गर्ने भएको हो।
नियामकले गत डिसेम्बर २४ मा एप्पलले आफ्नो बजार शक्तको दुरुपयोग गरेर आफ्नै इन-एप पर्चेज प्लेटफर्ममार्फत् नै भुक्तानी गर्नु पर्ने नियम लगाएको भन्दै जरिबानाबाट बच्न चाहेमा जनवरी १५ भित्र उक्त नीति परिवर्तन गरिसक्नुपर्ने निर्देशन दिएको थियो।
यसअघिका निर्णयमा झैं यो कुरामा एप्पल खुशी थिएन। उसले तेस्रो पक्षको विकल्प उपलब्ध गराउनुले नयाँ गोपनीयता तथा सुरक्षा जोखिम आउने भएकाले यूजर एक्सपेरियन्समा तलमाथि हुनसक्ने बताएको थियो।
यसबाहेक यसको रिफन्ड लगायतका सानातिना समस्याको समाधान आफैंले गर्नुपर्ने भन्दै डेभलपरहरुलाई पनि सचेत गराएको थियो।
प्रकाशित: ३ माघ २०७८, सोमबार