विद्युतीय राहदानी लिन लाइन लाग्नु पर्दैन

  • Technology Khabar | २ माघ २०७८, आईतवार
विद्युतीय राहदानी लिन लाइन लाग्नु पर्दैन

काठमाडौं ।

पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड बढेको छ। सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) को प्रचलन सुरु गरेसँगै राहदानी बनाउनेको चाप थपिएको छ।

भीडलाई व्यवस्थित गर्न राहदानी विभागले अनलाइनबाट समय लिएर आउने नीति ल्याएको छ। घरबाटै अनलाइन फाराम भरेपछि हरेक दिन बिहान ११ बजे, अपराह्न १२, १ र २ बजेको पालो तोकिन्छ। त्यसरी समय पाएकालाई पालैपालो राहदानी उपलब्ध गराउने गरिएको छ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले सेवाग्राहीलाई एमआरपी लिँदाकै जस्तो बिहानैदेखि लाइनमा बस्ने बानी परेको बताउँदै भने, “लाम लाग्नु आवश्यक छैन । राहदानी लिन तोकिएको समयमा आइपुग्दा हुन्छ।”

स्वास्थ्य सावधानीका मापदण्डमध्ये मास्कको मात्र प्रयोग गर्नेहरू लाममा अधिक हुने गरेका छन् । कतिपयले त मास्क पनि लगाउने गरेका छैनन् । सामाजिक दूरी कायम गर्ने, बेला बखतमा सेनिटाइजरको प्रयोग गर्नेलगायतका सुरक्षा मापदण्ड अपनाउनेहरू सकभर देख्न पाइँदैन ।

सरकारले अत्यावश्यक सेवाका रूपमा राहदानी वितरणलाई पनि समावेश गरेकाले यस सेवालाई महामारीका कारण स्थगित गर्न नमिल्ने भनाइ विभागका पदाधिकारीको छ। विभागका तीन जना कर्मचारीलाई कोभिड सङ्क्रमण देखिएको छ। अन्य केहीलाई पनि स्वास्थ्य समस्या देखिएको छ ।

विभागका महानिर्देशक अर्यालले आफ्नो स्वाब परीक्षण गराउँदा नेगेटिभ आए पनि स्वास्थ्य समस्या कायम रहेको बताए।

सङ्क्रमणको जोखिम बढ्दै जाँदा राहदानी सेवालाई निरन्तरता दिन अपनाउनुपर्ने विधिका बारेमा विभागमा छलफल सुरु भएको छ। उनले पहिले त भीड कम गर्न प्रहरीको सहयोग लिनुपर्ने देखिएको बताउँदै सेवाग्राहीलाई आफ्नो पालो कुन बेला आउँछ भन्ने थाहा पाउनका लागि थप टेलिफोनको व्यवस्था गरिने बताए।

उपत्यकामा ललितपुर, भक्तपुर र काठमाडौँ जिल्ला प्रशासन तथा हरेक जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार रुपियाँमा एक हप्ताभित्र सहजै विद्युतीय राहदानी वितरण भइरहेको छ। दुई दिनभित्र राहदानी लिन चाहनेले १२ हजार रुपियाँ खर्च गरेर विभागमा आउन नपर्ने उनले बताए।

विद्युतीय राहदानी लिँदा बायोमेट्रिक परीक्षणका लागि व्यक्ति ‘लाइन’मा बस्नुपर्ने हुन्छ। नियमअनुसार बायोमेट्रिक परीक्षणमा सहभागी भई प्रमाणित नभएसम्म विद्युतीय राहदानी दिन मिल्दैन । गोरखापत्रबाट

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार