
काठमाडौं ।
भारतको चर्चित व्यवसायीक कम्पनीबाट ग्राहकहरुको संवेदनशिल डाटा ह्याक भएको छ। भारतको फेशन रिटेल कम्पनी आदित्य बिर्ला फेशन एण्ड रिटेल लिमिटेड (एबीएफआरएल) ठूलो मात्रामा डाटा चोरीको सिकार भएको हो।
५४ लाख भन्दा बढी इमेल ठेगानाहरू भएको डाटा आदित्य बिर्ला समूहको स्वामित्वमा रहेको प्लेटफर्मबाट कथित रूपमा स्क्र्याप गरी सार्वजनिक रूपमा पोस्ट गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
कथित डाटाबेसमा व्यक्तिगत ग्राहक जानकारीहरू समावेश छन् जस्तै नाम, फोन नम्बर, ठेगाना, जन्म मिति, अर्डर इतिहास, क्रेडिट कार्ड विवरणहरू, र एमडी ५ (MD5 (Message-Digest algorithm 5) ह्यासको रूपमा भण्डारण गरिएका पासवर्डहरू।
यो डाटा ब्रिचमा कर्मचारीहरूको तलब विवरण, धर्म र तिनीहरूको वैवाहिक स्थिति सहितको विवरण समावेश भएको बताईएको छ।
आदित्य बिर्ला फेसन र रिटेलको डाटाबेसलाई शाइनीहन्टर्स भनेर चिनिने ह्याकर समूहले सार्वजनिक गरेको छ। एबीएफआरएल एकाउन्टहरू ब्रेक भएको समाचार ‘ह्याभ आई बिन पाओन्ड’ (Have I Been Pwnd) द्वारा रिपोर्ट गरिएको थियो। रिपोर्टका अनुसार गत वर्ष डिसेम्बरमा आदित्य बिर्ला फेशन एण्ड रिटेल लिमिटेडको ५,४७०,०६३ एकाउन्टहरू ब्रेक गरेर ह्याकरहरुले फिरौती माग गरेका थिए।
तर ह्याकर समूहको फिरौतीको माग कथित रूपमा अस्वीकार गरिएको थियो, र डाटा त्यसपछि सार्वजनिक रूपमा लोकप्रिय ह्याकिङ्ग फोरममा पोस्ट गरिएको थियो।
“हामीले एबीएफआरएलसँग सम्पर्कमा रहन खोज्यौं। उनीहरूले एक वार्ताकार पठाए तर उसले रोकिराखेको थियो (‘४५ अर्ब डलर समूह’) को लागि प्रस्ताव उचित भन्दा बढी थियो। त्यसैले हामीले तिनीहरूका प्रख्यात डिभिजनहरू सहित तपाईंहरूका लागि सबै कुरा लीक गर्ने निर्णय गर्यौं।” शाइनीहन्टर्सले ह्याकिङ फोरमको पोस्टमा भनेको छ।
सो लीक डाटामा बैंक कारोबार, भुक्तानीको तरीका, कम्पनीहरुलाई गरेको भुक्तानीलगायतका संवेदनशिल विषयहरु रहेका छन्।
यद्यपि, त्यसमा कति रकम भुक्तानी गर्न भनिएको थियो भनेर खुलाएको छैन्।
प्रकाशित: २ माघ २०७८, आईतवार