सामसङद्वारा सुपर फास्ट ५१२जीबी डीडीआर५ मेमोरी मोड्युल निर्माण

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
सामसङद्वारा सुपर फास्ट ५१२जीबी डीडीआर५ मेमोरी मोड्युल निर्माण

काठमाडौं ।

सामसङले ५१२जीबी को डीडीआर५ मेमोरी मोड्युल सार्वजनिक गरेको छ।

हिजोआज हामीले प्रयोग गर्ने कम्प्युटरहरुमा सामान्यतया: ८ वा १६ जीबीसम्मका डीडीआर४ र्याम प्रयोग गरिएको हुन्छ।

सामसङले हालै सार्वजनिक गरेको ५१२जीबी डीडीआर५ मेमोरी मोड्युल ७२०० एमबीपीएसमा चल्ने बताइएको छ।

यो नयाँ मोड्युल अति धेरै कम्प्युटिङ तथा उच्च ब्यान्डविथ आवश्यकता पर्ने कामका लागि प्रयोग हुने सर्भरहरुमा प्रयोग हुने कम्पनीले जनाएको छ।

यी अति नै मेमोरी खपत गर्ने काममा आर्टिफिसियल इन्टेलिजेन्स तथा मेशिन लर्निङ लगायतका पर्दछन्। यति उच्च क्षमताको मेमोरी मोड्युल हाल उपलब्ध अत्याधुनिक एचकेएमजी प्रविधिका कारण सम्भव भएको हो।

यो प्रविधिलाई सामसङले सन् २०१८ मा आफ्नो जीडीडीआर६ मेमोरीका लागि आत्मसात् गरेको थियो।

सामान्यतया: एचकेएमजीले डीआरएएम संरचनामा रहेको कुचालक तहलाई विस्थापित गर्दछ। ती तहहरुमा रहेका खोलहरुले करेन्ट चुहावट हुन नदिने भएकाले कार्य सम्पादन अब्बल हुने बताइएको छ।

यसैगरी यो नयाँ मोड्युलमा सामसङले उर्जा खपतलाई पनि १३ प्रतिशतले घटाउन सक्षम भएको पीसीम्याग डटकमले उल्लेख गरेको छ।

‘लजिक तथा मेमोरी क्षमतायुक्त सामसङ एकमात्र सेमिकन्डक्टर कम्पनी हो भने आफ्ना मेमोरी प्रडक्टको विकासमा एचमेएमजीको अत्याधुनिक लजिक प्रविधिलाई समेट्न सक्नु कम्पनीको ठूलो दक्षता हो’, सामसङ इलेक्ट्रोनिक्सको डीआरएएम मेमोरी प्लानिङ/इनेब्लिङ ग्रुपका उपाध्यक्ष यङ सू शोनले भने।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...