
काठमाडौं ।
हजारौं व्यक्तिहरु ऊर्जाको मूल्य वृद्धिको विरोधमा सडकमा उत्रिएपछि तत्कालिन सोभियत संघबाट टुक्रिएको कजाख्स्तानमा यस हप्ता अवरुद्ध भएको इन्टरनेट सेवा अझै खुला भएको छैन्। इन्टरनेट यहि बुधबार आंशिकरूपमा पुनर्स्थापित गरिएको थियो तर अझै पनि महत्त्वपूर्ण अवरोधको रहिरहेको बताईएको छ।
नेटब्लक र क्लाउडफ्लेयर दुबैले मंगलबार साँझ कजाख्स्तानको पश्चिमी शहर झानोजेनमा विरोध प्रदर्शन सुरु भएपछि देशमा महत्त्वपूर्ण इन्टरनेट बन्द भएको रिपोर्ट गरेको जेडीनेटले उल्लेख गरेको छ।
नेटब्लक्सका निर्देशक आल्प टोकरले जेडीनेटलाई बताएअनुसार उनीहरूले मंगलबार सुरु भएदेखि नै अवरोधहरू ट्र्याक गरिरहेका छन्। बुधवार बेलुका ५ बजेतिर देशव्यापी ब्ल्याकआउट हुनुअघि सुरुमा मोबाइल सेवा र केही निश्चित लाइन प्रभावित भएको नेटब्लकले पत्ता लगाएको थियो जसले गर्दा कजाख्स्तानका सबै सम्पर्कमा असर परेको थियो।
“यहाँ के उल्लेखनीय छ भने राष्ट्रिय स्तरमा नै इन्टरनेट प्रतिबन्धहरू गरिएको छ, जसले प्रभावकारी रूपमा देश भित्र र बाहिर दुबै स्थानमा सूचना शून्यताको परिणाम दिन्छ। यसले राजनीतिक अस्थिरताको रूपमा कजाख्स्तानमा के भइरहेको छ भन्ने स्पष्ट चित्र प्राप्त गर्न गाह्रो बनाएको छ,” टोकरले भने।
यसैबीच अल जजीराका रोबिन फोरेस्टियर-वाकरले जर्जियाबाट शुक्रबार रिपोर्ट गर्दै, कजाख्स्तानमा अझैपनि इन्टरनेट सेवा बन्द रहेको उल्लेख गरेका छन् ।
“हामीले पेट्रोल स्टेशनहरू र बाहिर बेकरीहरूमा लामहरू देख्यौं, र ध्यान राख्नुपर्ने अर्को कारक यो हो कि इन्टरनेट डाउन भएको कारण मानिसहरूलाई अनलाइन भुक्तानी गर्न वा नगद प्राप्त गर्न धेरै गाह्रो छ,” उनले भने।
प्रकाशित: २३ पुष २०७८, शुक्रबार