
काठमाडौं ।
अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ।
कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त प्रणालीमा जोडिएको हो।
सो सम्बन्धि दुई कम्पनीबीच सम्झौता भइसकेको छ। सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ।
यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ। यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्।
यसरी एनपीआईमा जोडिए पछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ।
एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा अजोड इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले अजोड इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ।
अजोड इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन्।
प्रकाशित: २३ पुष २०७८, शुक्रबार