
काठमाडौं ।
चीनको प्रतिलिपि अधिकार संस्थाले बिहीबार डिजिटल म्यूजिक प्लेटफर्महरुले विशेष अवस्थामा बाहेक एकलोटी प्रतिलिपि सम्झाैता गर्न नपाउने बताएको छ।
नियामक संस्थाले यस्तो नियम ल्याउनुमा देशको निजी क्षेत्रमा रहेको एकाधिकारमाथि अंकुश लगाउनु रहेको बुझिएको छ।
नेशनल कपिराइट एडमिनिस्ट्रेशन अफ चाइना एनसीएसीले बिहीबार बेइजिङमा प्रभावशाली डिजिटल म्यूजिक प्लेटफर्महरुसँगको बैठकका क्रममा यसप्रकारको आदेश दिएको हो।
उक्त बैठकमा डिजिटल म्यूजिक प्लेटफर्मबाहेक रेकर्ड तथा गीत लेखनसम्बन्धी प्रतिलिपि कम्पनीहरु रहेको एनसीएसीले आफ्नो आधिकारिक विच्याट एकाउन्टमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त आदेश चीनका नियामकहरुले बढाउँदै आएको प्रविधि क्षेत्रमाथिको कडाइका बीच आएको हो। यो आदेश विशेष गरी एकाधिकार व्यवहार, अस्वस्थ प्रतिस्पर्धा तथा उपभोक्ता अधिकारमाथि केन्द्रित रहेको बुझिएको छ।
गत वर्ष टेन्सेन्ट होल्डिङ्सले चीनको बजार नियामकको आदेश अनुसार आफ्ना सबै एकलोटी सांगीतिक प्रतिलिपि सम्झोता समाप्त गरेको घोषणा गरेको थियो।
प्रकाशित: २३ पुष २०७८, शुक्रबार