वायु प्रदूषण मापन स्टेसनका लागि इन्टरनेट सेवा प्रदायकसँग प्रस्ताव माग

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
वायु प्रदूषण मापन स्टेसनका लागि इन्टरनेट सेवा प्रदायकसँग प्रस्ताव माग

काठमाडौं ।

वायु गुणस्तरको सूचना र तथ्यांकलाई चुस्त र प्रभावकारी बनाउन वातावरण विभागले मुलुकभरका वायु गुणस्तर मापन स्टेसनका लागि ‘डेडिकेटेड इन्टरनेट’मा जोड दिएको छ।

विभाग मातहतका स्टेसनमा २४सै घण्टा इन्टरनेटमार्फत सूचना अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सार्वजनिक रुपमा प्रस्ताव माग गरिएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए।

उनले टेक्नोलोजीखबरसँग भने, ‘हरेक स्टेसनको पछिल्लो तथ्यांक र प्रदूूषणको उचारचढाव हामीले इन्टरनेटकै सहयोगमा थाहा पाउने हो। स्टेसनमा इन्टरनेट अनिवार्य नभएसम्म सबै सरोकारवालाहरुलाई प्रदूषणको पछिल्लो अवस्था जानकारी दिन सकिँदैन।’

विभागले हरेक वर्ष इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सार्वजनिक रुपमा प्रस्ताव माग गरेर प्रतिस्पर्धाका आधारमा कम्पनी छनोट गर्ने गरेको पौडेलले प्रष्ट्याए।

विभाग मातहत हाल मुलुकका विभिन्न भेगमा २७ ओटा स्टेसन छन्। २६ ओटा स्टेसन प्रदूषण मापन गर्ने प्रयोजनका लागि स्थापना भएका हुन्।

रसुवाको याला ग्लेसियरको स्टेसन भने जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको ब्ल्याक कार्बनको प्रभाव विश्लेषणका लागि खडा गरिएको हो।

यस्ता स्टेसनको सहयोगमा प्रत्येक घण्टा र हरेक दिन (२४ घण्टा)को वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स)बारे जानकारी लिन सकिन्छ।

प्रतिस्पर्धामाझ छनोटमा पर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीसँग विभागले एक वर्षका लागि सम्झौता गर्दै आएको छ।

हरेक वर्ष यस्तै प्रक्रिया दोहो्याउने गरिन्छ। प्रतिस्पर्धामार्फत चालु आर्थिक वर्षका लागि भायानेटको सेवा जोडिएको छ। विगतका केही वर्ष लगातार वर्ल्डलिंक छानिएको थियो।

आगामी आर्थिक वर्ष २०७९-८० का लागि हालै प्रस्ताव आह्वान गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

कहाँ कहाँ छन् वायु प्रदूषण मापन स्टेसन?

काठमाडौंको रत्नपार्क, शंखपार्क, कीर्तिपुर, ललितपुरको भैंसेपाटी, भक्तपुर, धुलिखेल, पोखरा, हेटौंडा, जनकपुर, लुम्बिनी, चितवनको सौराहा, दाङ, नेपालगन्ज, सिमरा, सुनसरीको झुम्का, धनकुटा, दमक, महेन्द्रनगरको भीमदत्त, मुगुको रारा लगायतका भेगमा वायु प्रदूषण मापन स्टेसन छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले लुम्बिनी, सौराह र रसुवाको यालामा स्टेसन स्थापना गरेको छ। रत्नपार्क, पुल्चोक र धुलिखेलका स्टेसन इसिमोड र विभागको साझेदारीमा स्थापना भएका हुन्।

यसबाहेक अमेरिकी दूतावासले दूतावास परिसर महाराजगञ्ज र कान्तिपथस्थित फोहोरा दरबारका दुई स्टेसनमार्फत सूक्ष्म धुलोको कण (पीएम २.५) को मात्रा मापन गर्दै आएको छ।

रारा र यालाका स्टेसन सौर्य उर्जामार्फत सञ्चालन हुने भएकाले यी स्टेसनको सूचना नियमित हुन नसकेको विभागका अधिकारी बताउँछन्। ‘अन्यत्रका स्टेसनमा विद्युत्को केन्द्रीय प्रसारण लाइन र ब्याकअप पावरसमेत भएकाले खासै गडबडी हुँदैन’, विभागका एक अधिकारीले भने।

विभागले यही आर्थिक वर्षभित्र इलाम, राजविराज र बुटवलमा थप तीनवटा स्टेसन स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार