
काठमाडौं ।
काठमाडौं, १० साउन । मेगा बैंक नेपाल लिमिटेड सातौँ बर्षमा प्रवेश गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको प्रधान कार्यालयमा आयोजित छैटौं बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकलाई अब संघीय संरचना अनुसार लैजाने घोषणा गरे । उपत्यकाबाहिरका ग्राहकहरुलाई लक्षित गर्दै बैंकले वुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेको जानकारी दिँदै उनले संघियताको कार्यान्वयनसँगै मेगा बैंकलाई संघिय संरचनामा लैजाने गरि गृहकार्य भइरहेको बताए ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उनले राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरिएको बताए । ‘यसले लगानीकर्ताहरुको लगानी गर्ने क्षमता अभिबृद्धि गरेको छ ।’– उनले भने । सिइओ शाहका अनुसार, मेगा बैंकले गत आर्थिक बर्षमा अछाम र डडेल्धुरामा शाखा विस्तार गरेको छ ।
‘हलोदेखि हाइड्रोसम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन १० अर्ब बढेर ३१ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब १० अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह १८ अर्बबाट बढेर २८ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै एक लाख बढेको छ । गतबर्ष करिब १ लाख ४३ हजार रहेकोमा अहिले २ लाख २५ हजार पुगेको छ । कर्जाको औसत आकार २५ लाख ५० हजार र निक्षेपको १ लाख ४४ हजार रहेको जानकारी दिएको छ ।
मेगा बैंकको ४४ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ४५ वटा एटीएम सञ्जाल छन् । देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करिब १४ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।
सहयोग हस्तान्तरण
यसैबीच, वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा आर्थिक अवस्था कमजोर भएर पढाइ छाड्न बाध्य बालबालिकालाई पढाउँदै आएको बैंकले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ नामक संस्थालाई ९० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संस्थाका संस्थापक सदस्य हौसला थापालाई सहयोग रकम हस्तान्तरण गरे ।
प्रकाशित: १० श्रावण २०७३, सोमबार