
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्षमताको मूल्यांकनद्धारा गरिन लागेको बढुवा प्रकृयामा लोकसेवा आयोगले पठाएको भनिएको पत्र प्राधिकरणमा दर्ता नै नभएको खुलासा भएको छ।
यसअघि कानूनी प्राबधानसहितका विषयहरु समावेश गरेर लोकसेवा आयोगले असार ३१ गते पठाएको भनिएको पत्र हालसम्म दूरसञ्चार प्राधिकरणमा दर्ता नै नभएको खुलासा भएको हो।
सो पत्र लोकसेवा आयोगले पठाएको भनिए पनि प्राधिकरणको दर्तामा नदेखिएको प्राधिकरण स्रोतले दाबी गरेकोछ।
‘अहिलेसम्म लोकसेवा आयोगले पठाएको भनिएको पत्र दर्ता नभएको देखिएको छ। अदालतमा सो बारेमा मुद्दा परेको र आदेश नै दिईसकेको हुँदा धेरै बोल्नु उपयुक्त हुँदैन। अब अदालतले नै छिनोफानो गर्ला,’ स्रोतले टेक्नोलोजीखबरसँग भन्यो।
लोकसेवा आयोगले पठाएको भनिएको पत्रको बारेमा हालै उच्च अदालत पाटनले समेत आदेश दिँदै सो पत्रको प्रमाणितकता ल्याउन र प्राधिकरणमा दर्ता भएको प्रमाणसहित उपस्थित हुन आयोगलाई आदेश दिईसकेको छ।
पुस १३ गते मंगलबार उच्च अदालतले यसअघिको अल्पकालिन अन्तरिम आदेश जारी राख्दै “प्राधिकरणमा आयोगले बुझाएको भनिएको २०७८ असार ३१ गतेको पत्रमा उल्लेख भएको आयोगको निर्णयको प्रतिलिपि तथा उक्त पत्र प्राधिकरणमा कुन मितिमा बुझाईएको छ सो को प्रमाणित प्रतिलिपिसमेत उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत उपलब्ध गराउनु भनि विपक्षी लोकसेवा केन्द्रिय कार्यालयलाई लेखी सो पत्रहरुसहित बहसमा उपस्थित हुन,” आदेश दिईसकेको छ।
सो मुद्दामा एक पक्ष आयोगको असार ३१ गतेको सो पत्र नक्कली वा किर्ते भएको दाबीसहित अदालतमा उपस्थित भएपछि सो पत्रको प्रमाणिकता अदालतले खोजेको बताईएको छ।
तर सो पत्र प्राधिकरणको अफिस अटोमेसन सिस्टममा दर्ता नै नभएको बताईएको छ। स्मरणरहोस् प्राधिकरणले आफ्ना सम्पूर्ण कार्यालयका काम कारबाहीहरु अटोमेसनमार्फत सञ्चालन गर्दै आएको छ।
लोकसेवा आयोगले सो पत्रमा अहिलेको बढुवा प्रकृयाको बारेमा कानूनी प्राबधानसहित आफ्नो भनाई र सुझाब दिएको बताईएको छ।
सो पत्रको बारेमा कर्मचारीहरुले अदालती प्रक्रियामा र सञ्चारमन्त्रीलाई दिएको ध्यानाकर्षण पत्रमा समेत उल्लेख गरेका छन्।
कारबाहीमा परे कर्मचारीहरु
यसैबिच सोहि विषयमा प्राधिकरण व्यवस्थापनले पदीय मर्यादा पालन नगरेको भन्दै दुई निर्देशकसहित ३ कर्मचारीहरुलाई स्पष्टिकरण सोधेको छ।
उनीहरुलाई तत्कालिन समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र सचिवलाई बढुवा प्रकृया रोक्न माग गर्दै मंसिर १७ गते मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्रको बारेमा स्पष्टिकरण सोधिएको दाबी प्राधिकरण स्रोतको छ।*
तत्कालिन समयमा अध्यक्ष पुरुषोत्तम खनाल विदेशमा इन्टरनेट गभर्नेन्स फोरमको कार्यक्रममा सहभागी भएको बेलामा प्राधिकरणको कार्यभार सम्हालेका अधिकारीलाई स्पष्टिकरण सोधिएको थियो। त्यस बाहेक सोहि विषयमा अन्य दुई कर्मचारीहरुलाई पनि स्पष्टिकरण सोधिएको बताईएको छ।
*समाचार सम्पादित
यो समाचार पनि हेर्नुस्-
दूरसञ्चार प्राधिकरणको बढुवा प्रक्रिया मुद्दामा लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश
प्रकाशित: १८ पुष २०७८, आईतवार