
काठमाडौं ।
यातायात व्यवस्था विभागले मंगलबारदेखि १४ लाख स्मार्ट लाइसेन्स छाप्न सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ कार्य सुरु गरिएको हो।
विगत डेढ वर्षदेखि स्मार्ट लाइसेन्स छपाईको कार्य रोकिएको थियो भने लाखौं सवारी चालकहरुले स्मार्ट लाइसेन्स कुरीरहेका छन्।
यातायात व्यवस्था विभागले ७ महिनापछि मंगलबारदेखि छाप्न सुरु गरेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब हुलाकमार्फत नै सेवाग्राहीको घरघरमा पठाउने योजना पनि रहेको छ।
विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार विभागले दैनिक ३ सिफ्टमा गरेर १० हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्नेछ र नवीकरण गर्ने सेवाग्राहीहरूलाई १० दिनमै लाइसेन्स उपलब्ध गराइनेछ।
विभागले स्मार्ट लाइसेन्स विभागको कार्यालय मिनभवनमै छापेर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइने जनाएको छ।
शुरुवातमा पुराना स्मार्ट लाइसेन्स नपाएका व्यक्तिहरुको लाइसेन्स छापिनेछ भने त्यसपछि नयाँ आवेदन दिनेहरुलाई स्मार्ट लाइसेन्स दिने बताईएको छ। पहिलो चरणमा काठमाडौं उपत्यकाका कार्यालयहरूबाट सेवाग्राहीहरूलाई लाइसेन्स वितरण थालिने छ।
विभागले नयाँ अनलाइन आवेदन भरेर ट्रायल दिएका नयाँ सेवाग्राहीलाई भने अस्थायी लाइसेन्स दिँदै आएको छ। क्युआर कोडमा आधारित र स्क्यान गरी सेवाग्राहीको सबै जानकारी हेर्न सकिने यस्तो कार्डको म्याद १ बर्षको हुनेछ। त्यसपश्चात सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउने विभागले जानकारी दिएको छ।
प्रकाशित: १३ पुष २०७८, मंगलवार