
काठमाडौं ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र वैज्ञानिक खोज अनुसन्धान गर्ने नामी नामक संस्थाको आयोजनामा भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला सुरु भएको छ।
पाठशालामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको देशनै विकास र समृद्धिमा अगाडि बढेको बताउँदै पाठशालाले विकासको खाका पनि कोर्ने बताए।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको प्रगति प्रस्तुत गरे । काठमाडौँ विश्वविद्यालयका डीन डा मनिस पोखरेलले कृत्रिम बौद्धिकता कम्प्युटर इन्जिनियरका लागि मात्र नभई सबै क्षेत्रका लागि आवश्यक रहेको औँल्याए।
न्यूनतम स्तानक उत्तीर्णदेखि पीएचडीसम्मको अध्ययनरत स्वदेश तथा विदेशका १२० जना प्रशिक्षार्थी सहभागी रहेको पाठशालामा विश्वका विभिन्न देशका ३० वैज्ञानिकहरूले प्रशिक्षण दिइरहेको नामीका इन्जिनियर श्रेयासा पौडेले जानकारी दिइन्। पाठशालामा विश्वका विभिन्न वैज्ञानिकहरूले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेको उनले बताइन।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रवीन्द्र फोंजुले विकसित देशसँंगै विकासोन्मुख देशहरूमा पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन कार्यशालाले टेवा पुर्याउने र पाठशालामा नयाँनयाँं अनुसन्धानबारे शोधपत्र निकालिने जानकारी दिए।
पाठशालाको ११ दिनसम्म कृत्रिम बौद्धिकतालाई सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाइने बताउँदै नामी संस्थाका अनुसन्धानकर्ता दण्डपाणि पौडेलले बताए।
प्रकाशित: ७ पुष २०७८, बुधबार