
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई–पासपोर्ट (विद्युतीय राहदानी)का लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ। ई–पासपोर्टका लागि सेवाग्राही आफैंले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौं बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो। यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ। सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई–पासपोर्ट उपलब्ध गराउने छन् । ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन् ।
यसैबीच चितवनमा पनि आजैबाट ई–पासपोर्ट वितरण सुरु भएको छ।जिल्ला प्रशासन कार्यालय चितवनकाअनुसार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई–पासपोर्ट दिइएको छ। केही दिन दैनिक २० जनाका दरले अनलाइनबाट आवेदन भरेकालाई ई–पासपोर्ट वितरण गर्ने र अर्को आइतबारबाट यसलाई बढाउँदै लैजाने बताईएको छ।
अनलाइनबाट भरिने ई–पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ। मोबाइलबाट पनि फारम भर्न मिल्छ। सरकारले काठमाडौंस्थित राहदानी विभागबाट १ मंसिरदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो।
प्रकाशित: ७ पुष २०७८, बुधबार