सफ्टवेयर प्रणालीबाट राजस्व सङ्कलन सुरु

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
सफ्टवेयर प्रणालीबाट राजस्व सङ्कलन सुरु

काठमाडौं ।

रुकुम (पूर्व) का तीनवटै स्थानीय तहले सफ्टवेयर प्रणालीमार्फत राजस्व सङ्कलन सुरु गरेका छन्। भूमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणाीमार्फत राजस्व सङ्कलनको कार्य थालेका हुन्।

भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले
इन्टरनेटको समस्यालाई समाधान गरी सबै वडामा यो प्रणाली लागू गर्ने अभियानमा गाउँपालिका लागि परेको बताए।

सो गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ६१ लाख ७८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। यसमा गत मङ्सिर १५ सम्म १७ लाख ४४ हजार राजस्व सङ्कलन भइसकेको जनाइएको छ।

त्यस्तै पुथाउत्तरगङ्गाले राजस्व सङ्कलन प्रणालीलाई चुस्त, दुरुस्त र अध्यावधिक बनाउने उद्देश्यका साथ सफ्टवेयर प्रणाली अङ्गालिएको गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्काले बताए। गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा रु. ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। सबै वडामा नियमितरुपमा इन्टरनेटको सुविधा नहुँदा भने यो प्रणाली कार्यान्वयनमा चुनौती देखिएको गाउँपालिकाले जनाएको छ।

सिस्ने गाउँपालिकाले पनि यही पुस १ गतेबाट सफ्टवेयर प्रणालीमार्फत राजस्व सङ्कलन सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए। राजस्व प्रणालीमा एकरुपता ल्याई राजस्व सङ्कलन कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सफ्टवेयरमार्फत राजस्व सङ्कलन सुरु गरिएको उनले बताए।

गाउँपालिकाले चालु आव २०७८/७९ मा एक करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

सफ्टवेयरबाट राजस्व सङ्कलन गर्न जिल्लाका ३१ वटै वडाका वडा सचिव, एमआइएस फिल्ड सहायक र कम्प्युटर अपरेटरलाई तालिम दिइएको छ ।

तीनवटै पालिकामा गाउँपालिकाको आयोजना र सफ्टेक इन्फोसिस प्रालि काठमाडौँको प्राविधिक सहयोगमा वडा सचिव र अन्य कर्मचारीलाई तालिम प्रदान गरिएको हो। यसअघि हस्तलिखित रसिदको प्रयोग गरी राजस्व सङ्कलन गर्दै आएकोमा विद्युतीय प्रणालीले राजस्व सङ्कलनमा सहजता आउन विश्वास गरिएको छ। अब गाउँ तथा वडा पालिकाले सङ्कलन गर्दै आएका विभिन्न सेवा शुल्क, व्यवसाय दर्ता शुल्क र मालपोत करलगायत अन्य सवै राजस्व विद्युतीय माध्यमबाट सङ्कलन हुनेछन्।

कहिलेकाहीँ विद्युत् र इन्टरनेट नहुँदा केही समस्या भए पनि यो प्रणालीले सेवा दिने र लिने दुवैलाई सहज हुनेछ। यसअघि हस्तलिखित रसिदको माध्यमबाट राजस्व सङ्कलन गर्दा बेरुजु आउने गरेकोमा त्यो समस्या अब समाधान हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार