
काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक रुपमा सम्झौता भएको छ।
साथै बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ।
उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
यस सम्झौता अनुरुप राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टू–पे तथा इ–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन्।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारकोरुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्।
साथै बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई डिजिटल प्लेटफर्मको रुपमा कर्पोरेट पे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन्।
उक्त प्रणाली मार्फत कनेक्स्ट आईपिएस अथवा एनसिएचएल आईपिएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन्।
कर्पोरेट पे मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ। यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैँले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने बैंकले जनाएको छ।
प्रकाशित: १ पुष २०७८, बिहीबार