
काठमाडौं ।
छिमेकी देश भारतमा इकमर्स प्लेटफर्म अमेजनमार्फत गाँजाको कारोबार भएको विषयमा अनुसन्धानका लागि मध्य प्रदेश सरकारले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ। सो बारेमा स्थानीय प्रहरीले अनुसन्धान समेत गरिरहेको समाचार आएको थियो।
स्थानीय व्यापारीहरूको संगठन कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स(सीएआईटी) ले ई-वाणिज्य प्रमुख अमेजनलाई नियोजितरुपमा हेम्प बेचेको आरोप लगाएको थियो। यसबाहेक, सीएआईटीले अमेजन प्लेटफर्ममा गाँजाको कथित बिक्रीको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत लेखेको थियो।
मध्य प्रदेश सरकारले अमेजन मार्फत गाँजा/भांग आपूर्तिको मामिलामा अनुसन्धान गर्न एसआईटी गठन गरेको भारतीय मिडियाहरुले जनाएका छन्। यस निर्णयको व्यापारी संघ सीएआईटीले स्वागत गरेको छ।सीएआईटीका राष्ट्रिय महासचिव प्रवीण खण्डेलवालले यस बारेमा ट्विटमार्फत जानकारी दिएका हुन्।
सीएआईटीले यस मामिलामा अन्य अभियुक्तहरूको गिरफ्तारीसँगै अमेजन अधिकारीहरूलाई पनि तुरुन्तै पक्राउ गर्न माग गरेको छ।
नोभेम्बर २०२१ मा, मध्य प्रदेशको भिन्ड जिल्लाको पुलिसले अनलाइन हेम्प बिक्री र्याकेटको पर्दाफास गरेपछि अमेजन इन्डियाका कार्यकारी निर्देशकहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो।
प्रकाशित: २७ मंसिर २०७८, सोमबार