
काठमाडौं ।
चिनियाँ रोभरले हालै चन्द्रमाको सतहमा खिचेको क्यूब आकारको पदार्थको तस्बिरले निकै चर्चा पाइरहेको छ।
उक्त तस्बिर के को हुन सक्छ भन्ने कुरामा कौतुहलता उत्पन्न भएको छ भने चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुले मिमका लागि विषयवस्तु पाएका छन्।
युटु-२ नामक उक्त रोभरले चन्द्रमामा आफ्नो ठाउँभन्दा ८० मिटर पर एउटा ठूलो क्यूब आकारको कुनै वस्तुको तस्बिर खिचेको थियो।
उक्त जानकारी आवर स्पेस नामक चिनियाँ सरकारी वेबसाइटले रोभरको अन्तिम तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको हो।
युटुको पछिल्लो आविस्कार ह्याशट्यागमा इन्टरनेटमा मिमहरुको एउटा श्रृङ्खला नै चलेको थियो जसमा चन्द्रमाको सतहमा रोभर गुड्दै एक जोडी ढुंगाको खम्बा, एउटा अग्लो ढुंगे पहाड तथा चिनियाँ कम्युनिस्ट पार्टीको संकेत हँसिया हथोडातर्फ बढ्दै गरेको देखाइएको थियो।
एउटा चिनियाँ इन्टरनेट प्रयोगकर्ताले आफ्नो सामाजिक सञ्जालको पोस्टमा लेखेका छन्, ‘यो अमेरिकाले छोडेर गएको अन्तरिक्षको फोहर हो।’
‘अझ नजिकबाट हेर्दा यो कोभिड १९ का लागि न्यूक्लिक एसिड परीक्षण केन्द्र जस्तो देखिन्छ,’ अर्का प्रयोगकर्ताले लेखेका छन्।
‘यो एलियनको घर हो’, तेस्रो पोस्टमा उल्लेख छ।
आवर स्पेसका अनुसार सौर्यउर्जाबाट चल्ने युटु अर्थात् जेड र्याबिट रोभरले २ देखि ३ चन्द्र दिनमा ८० मिटरको क्षेत्र डुल्न सक्ने बताइएको छ।
उक्त रोबोटिक रोभर चन्द्रमाको साउथ पोल-आइटकेन बेसिनमा रहेको भोन कार्मन क्रेटरमा सन् २०१९ देखि नै रहेको छ।
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार