
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले अहिलेका पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नुपर्ने बताएका छन्।
बुधबार नाडा अटो मोबाईल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई न्यूनिकरण र विद्युतीय गाडीलाई प्रोत्साहन गर्नको लागि पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नु पर्ने बताएका हुन्।
उनले मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनिकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताए।
‘अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ’, मन्त्री शर्माले भने, ‘यस किसिमको प्रविधि पनि आइसकेको छ। यसो गर्दा नै हामी सबैको भलो हुनेछ।’
मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पुर्याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरे। उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गरेका हुन्।
‘त्यो २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्याउन तपाईँहरूलाई आग्रह छ’, व्यवसायीहरूलाई उनले भने, ‘आजको दिनमा जहाँ पनि प्रविधि पुर्याउन सकिन्छ। जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ। त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’
उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने बाचासमेत मन्त्री शर्माले गरे।
अटो मोबाइल्समा गाडी उत्पादन मात्र नभएर धेरै किसिमका उद्योगहरूको सम्भावना रहेको मन्त्री शर्माले बताए।
प्रकाशित: २२ मंसिर २०७८, बुधबार