
काठमाडौं ।
नियान्टिकले पोकेमन गो को आईओएस एपका लागि १.१९१.० अपडेट ल्याएको छ। यो अपडेटपछि उक्त अपरेटिङ सिस्टममा पोकेमन गो गेम उच्च फ्रेम रेटमा चल्ने बताइएको छ।
पोकेमन गो यसअघि आईओएस डिभाइसमा ३० फ्रेम प्रतिसेकेन्डमा खेल्न सकिन्थ्यो भने अब एडभान्स्ड सेटिङ अन्तर्गतको ‘अनलक योर डिभाइस नेटिभ रिफ्रेश रेट फर हाइयर एफपीएस’ मार्फत् गेमको फ्रेम रेट बढाउन सकिने भएको हो।
यस हिसाबले आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्समा रहेको प्रोमोशन डिस्प्लेमा १२० फ्रेम प्रतिसेकेन्ड तथा त्यसबाहेकका अन्य मोडलमा ६० फ्रेम प्रतिसेकेन्डसम्मको फ्रेम रेटमा पोकेमन गो खेल्न सकिनेछ।
गेमको आधिकारिक चेन्जलगमा भने उच्च फ्रेमरेट सपोर्टका बारेमा केही जानकारी दिइएको छैन। तर यसमा ‘क्वालिटी अफ लाइफ इम्प्रुभमेन्ट’ का बारेमा बताइएको र यूजरहरुलाई आईओएस १२ अपडेट गर्न भनिएको छ।
कम्पनीले त्यसभन्दा अगाडिका आईओएस भर्सनमा उक्त परिवर्तन सपोर्ट हटाउने संकेत गरेको छ।
प्रकाशित: १८ मंसिर २०७८, शनिबार