अमेजनको वेबसाइटमार्फत् नक्कली एन-९५ मास्क बिक्री भइरहेको आरोप

  • Technology Khabar | १५ मंसिर २०७८, बुधबार
अमेजनको वेबसाइटमार्फत् नक्कली एन-९५ मास्क बिक्री भइरहेको आरोप

काठमाडौं ।

अमेरिकी ई-कमर्स जायन्ट अमेजनमा एन-९५ को नाममा नक्कली चिनियाँ केएन ९५एस मास्क बिक्री भइरहेको बताइएको छ।

एन-९५ मास्क कोरोना महामारीबाट बच्नका लागि निकै प्रभावकारी मानिँदै आएको छ। केही समयअघिसम्म छिमेकी देश भारतको बजारमा पनि यो मास्कको निकै अभाव थियो ।

पछि चीन तथा अमेरिकाबाट भारी मात्रामा आपूर्ति गरिएपछि सहज रुपमा पाइन थालेको थियो।

नेपालमा पनि कोरोना महामारीबाट बच्नका लागि अन्य मास्कको तुलनामा एन-९५ मास्कलाई निकै प्रभावकारी मानेर प्रयोग गरिँदै आएको छ।

पछिल्लो समय विश्वभरी नै अनलाइन मार्फत् सामन खरिद गर्ने प्रवृत्ति बढिरहेको छ।

कोरोना संक्रमणबाट बच्ने पहिलो उपायका रुपमा लिइएको मास्क पनि अनलाइनमार्फत् मगाउने थुप्रै छन्। यसरी अनलाइन मार्फत् मगाइएको मास्कको डेलिभरी हुँदा भने समस्या देखिन थालेको छ।

विशेषगरी भारत तथा अन्य देशमा उपलब्ध अमेजनको ई-कमर्स साइटमार्फत् एन-९५ मास्क मगाउँदा सक्कली सामानको सट्टा चीनमा बनेको नाम उस्तै सुनिने नक्कली केएन९५एस मास्क हात पर्ने गुनासो बढिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यस सम्बन्धमा अमेजनले आफ्नो साइटमा बेचिने विशेष ब्रान्डका बारेमा टिप्पणी नगर्ने बताएको छ।

तर पछिल्ला बयानहरुमा कम्पनीले फेक अर्थात् मिथ्या उत्पादनहरुको बिक्रीमा प्रतिबन्ध लगाइदिएको र यो निर्णयलाई कडाइका साथ पालना भइरहेको बताएको छ।

विश्लेषकहरुले खोपको मात्रा बढिरहेको भए पनि मास्क भने लगाउनै पर्नेमा जोड दिँदै आएका छन्।

प्रकाशित: १५ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...