नेपाली काँग्रेसले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने

  • Technology Khabar | १४ मंसिर २०७८, मंगलवार
नेपाली काँग्रेसले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने
फाइल

काठमाडौं ।

“उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन” को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखेर तयारी अगाडि बढाएको हो।

गृहमन्त्री एवं महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले नेपाली काँग्रेसलाई समयानुकूल रूपान्तरण गर्ने गृहकार्य पहिल्यै सुरु भइसकेको बताए।

उनले भने, “यस पटक क्रियाशील सदस्यता भर्ने र नवीकरण गर्न पनि प्रविधिको प्रयोग गरेका छौँ । पार्टीको आधिकारिक वेबसाइटमै क्रियाशील सदस्यको नामावली हेर्ने व्यवस्था गरिएको छ, महाधिवेशनलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ।”

केन्द्रीय सदस्य खाणले प्रविधिको प्रयोग गर्ने पार्टीका रूपमा नेपाली काँग्रेस अग्रसर भएको बताए।

यसअघि क्रियाशील सदस्यता भर्न पनि फाराम भरेपछि तहगत रूपमा सिफारिस गर्ने र केन्द्रीय समितिले स्वीकृत गरेर नामावली जिल्लामा पठाउने गरिएको थियो।

नेपाली काँग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित प्रचारप्रसार समितिले १४औँ महाधिवेशनको लोगो सार्वजनिक गर्ने बताए।

प्रवक्ता शर्माले भने, “जिल्ला अधिवेशन र सातै प्रदेशको अधिवेशन सकिएपछि १४औँ महाधिवेशन सुरु हुन एक हप्ता बाँकी रहन्छ। सामाजिक सञ्जालसँगै विविध तरिकाले प्रचारप्रसारको काम व्यवस्थित रूपमा हुन्छ। हामी डिजिटल्ली जान्छौँ।”

प्रवक्ता शर्माले अहिले डिजिटल सामग्री उत्पादनको काम भइरहेको जानकारी दिए। सामग्री तयार भएपछि टेलिभिजन तथा सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिने उनले बताए।

काँग्रेस प्रचारप्रसार विभागका सचिव दिनेश थापामगरले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने र काठमाडौँदेखि दूरदराजका नागरिकसम्म महाधिवेशनबारे जानकारी पुर्याउने गरी तयारी भइरहेको बताए।

सचिव थापा मगरले भने, “काँग्रेस पार्टीका नीति तथा कार्यक्रम नागरिकले बुझ्नुपर्छ। प्रचारप्रसार विभाग र १४औँ महाधिवेशनका लागि गठित प्रचारप्रसार समितिले पार्टीका नीति तथा कार्यक्रमलाई व्यापक जनमानसमा पुर्याउने गरी तयारी गरिरहेको छ।” गोरखापत्र

प्रकाशित: १४ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार