पूर्व सञ्चारमन्त्री गुरुङले मोबाइल टावर नदिएको भन्दै दूरसञ्चार प्राधिकरण पुगे उनकै क्षेत्रका बासिन्दा

  • Technology Khabar | ११ मंसिर २०७८, शनिबार
पूर्व सञ्चारमन्त्री गुरुङले मोबाइल टावर नदिएको भन्दै दूरसञ्चार प्राधिकरण पुगे उनकै क्षेत्रका बासिन्दा
दोलखा जिल्लाको बेदिङ्गमा २०७४ सालमा राखिएको बिटिएस टावर ।

काठमाडौं ।

आफ्नो क्षेत्रका सांसद तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले मोबाइल सेवा गाउँमा पुर्याईदिने झुटो आश्वासन दिएर गाउँलेलाई झुक्याएको भन्दै उनको क्षेत्रका स्थानीयबासी मोबाइल सेवाको लागि नेपाल दूरसञ्चार प्राधिकरण पुगेका छन्।

दोलखा जिल्ला गौरिशंकर गाउँपालिकाको ‘ना’ भन्ने गाउँमा दूरसञ्चार सेवा उपलब्ध गराई दिन भन्दै खानेपानी उपभोक्ता समितिका अध्यक्ष फिन्जो शेर्पा प्राधिकरणमा यहि मंसिर १० गते शुक्रबार पुगेका हुन्।

उनले प्राधिकरणमा पुगेर निवेदन दिँदै नेपाल टेलिकमको मोबाइल सेवाको टावर राख्नका लागि ढुवानी खर्च उपलब्ध गराईदिन अनुरोध गरेका थिए ।

यसअघि नेपाल टेलिकमको बबरमहल स्थित कार्यालयमा निवेदन दिएका शेर्पाले सो कार्यालयका अधिकृतहरुको सुझाबमा नै ढुवानी खर्च बेहोरीदिन भन्दै प्राधिकरणमा निवेदन दिएको बताए।

“म पहिले नेपाल टेलिकमको बबरमहल कार्यालयमा पनि गएको थिएँ। उहाँहरुले ढुवानी खर्च छैन् भनेर भन्नुभयो र प्राधिकरणमा जानुस् भनेर आएको हो। ग्रामीणको रकमबाट ढुवानी खर्च दिनुपर्यो भनेर निवेदन दिएको छु,” उनले टेक्नोलोजीखबरसँग भने।

नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयमा गुनासो सुनाउँदै फिन्जो शेर्पा

टेलिकमका अधिकृतहरुले टावर राख्नका लागि सामाग्री तयार भएपनि ढुवानी खर्च नभएको र त्यसको लागी प्राधिकरणअन्तरगत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको रकम माग्न उनलाई सुझाब दिएका थिए। तर सामान ढुवानीका लागि कति खर्च लाग्दछ र कोषले कसरी रकम दिन्छ भन्ने बारेमा भने बताएनन्।

सोही कोषबाट ढुवानी खर्च बेहोरिदनको लागि समेत उनले प्राधिकरणमा निवेदन दिँदै सहयोगको अपिल गरेका थिए।

सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने सो गाउँमा सगरमाथा आरोहीहरु भएपनि सरकारले कुनै सहयोग नगरेको उनको गुनासो थियो ।सो गाउँमा ५० घरधुरी रहेको बताईएको छ।

दोलखाको ना गाउँ । फोटोः हाइलाइटटूरिज्मबाट ।

“मैले पनि पाँच पटक सगरमाथा चढेको छु। तर गाउँमा मोबाइलको टावर लान सकेको छैन्। गाउँकै नेताले समेत हामीलाई ठग्यो,” उनले भने।

शेर्पाकाअनुसार उनले तत्कालिन सूचना तथा सञ्चार मन्त्री गुरुङलाई कार्यकक्षमा नै भेटेर २ पटक निवेदन दिएको र उनले आश्वासन दिएपनि सो निवेदनमा कुनै सुनुवाई भएन्। नेकपा एमालेका नेता गुरुङ शेर्पाको क्षेत्रका प्रतिनिधि सांसद समेत हुन्।

“मैले सबैजनालाई लगेर मन्त्री भएको बेलामा भेटेको र दूर्गम ‘ना’ गाउँमा टावर राखिदिन अनुरोध गरेको तर निवेदन मिल्काईदियो। अनि पार्टीको काममा सहयोग चाहियो भनेर गाउँमा आउँछ,” शेर्पाले गुनासो गरे, “अब त्यसलाई हामी गाउँमा छिर्न पनि दिँदैनौं।”

उनको गाउँमा मोबाइलकाे टावर राख्न ३ वर्ष अगाडी नै सर्भे भएपनि हालसम्म नेपाल टेलिकमले मोबाइल टावर सहितका उपकरणहरु पुर्याएको छैन्। सँधै टावरका लागि उपकरणहरु तयार भएको र ढुवानी खर्च नभएको टेलिकमका अधिकृतहरुले बताउने गरेको उनले गुनासो गरे।

यसपटक भने प्राधिकरणसँग ठूलो अपेक्षासहित आएको प्राधिकरणका एक अधिकृतलाई बताएका थिए।

“हाम्रो गाउँ निकै दूर्गम छ र कुनै संचारको साधन छैन्। कुराकानी गर्नका लागि हिँडेर बेदिङ गाउँमा झर्नुपर्छ। एक दिन लाग्दछ। त्यसैले टावर राख्न पाए गाउँमा सहज हुनेथियो,” उनले भने।

स्मरण रहोस् बेदिङ गाउँमा भने २०७४ मा नै नेपाल टेलिकमले बीटीएस टावर स्थापना गरिसकेको छ।

सम्बन्धित समाचार-

टेलिकमको सेवा अब दोलखाको सबैभन्दा विकट स्थान बेदिङ्गमा

प्राधिकरणका अधिकृतले भने उनको पत्रलाई आधार मानेर सहजीकरण गरिदिने र टावर राख्न नेपाल टेलिकमलाई पत्र पठाईदिने आश्वासन दिएका थिए।

यो पनि हेर्नुस्-

विदेशी कल तथा डाटा मनिटर गर्ने सिस्टम राख्न भ्यानराइज सलुसन्सलाई आशय पत्र जारी

प्रकाशित: ११ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया