बाइनान्सको प्रचार गरेको भन्दै स्पेनको बजार नियामकद्वारा फुटबलर इनियस्टाको निन्दा

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
बाइनान्सको प्रचार गरेको भन्दै स्पेनको बजार नियामकद्वारा फुटबलर इनियस्टाको निन्दा

काठमाडौं ।

स्पेनको बजार नियामक संस्थाले बुधबार ट्विटर र इन्स्टाग्राममा क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म बाइनान्सको प्रचार गरेको भन्दै फुटबलर आन्द्रेस इनियस्टाको निन्दा गरेको छ।

‘म बाइनान्समा क्रिप्टो कसरी शुरु गर्ने भन्ने सिकिरहेको छु’, इनियस्टाले आफ्नो सोसल मिडियामा ल्यापटप अगाडि बसेर बाइनान्सको वेबसाइटमा कारोबार गरिरहेको फोटो पोस्ट गरेका थिए।

उक्त पोस्टमा सो सामग्री बाइनान्सद्वारा शुल्क तिरेर राखिएको थियो वा थिएन भन्ने केही उल्लेख छैन। इनियस्टाले यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।

आफ्नो करियरको अधिकांश समय बार्सिलोनामा आबद्ध इनियस्टा सन् २०१० मा स्पेनले विश्वकप जित्दा राष्ट्रिय टोलीमा समावेश थिए। उनी हाल जापानको कोबेका लागि खेल्दै आएका छन्।

इनियस्टाका ट्विटरमा २ करोड ५० लाख तथा इन्स्टाग्राममा ३ करोड ८० लाख फलोअर रहेका छन्। उनको उक्त पोस्ट इन्स्टाग्राममा २ लाख ७० हजार पटक लाइक गरिएको थियो

उनले ट्वीट गरेको केही घण्टापछि बजार नियामकले क्रिप्टोकरेन्सीमा लगानी गर्नु र अरुलाई लगानी गर्न सुझाव दिनुअघि यसका बारेमा राम्ररी बुझ्ना सुझाएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...