विज्ञान तथा प्रविधिमा आधारित शिक्षाका लागि नेपालसँग सहकार्य गर्न जर्मनी इच्छुक

  • Technology Khabar | ७ मंसिर २०७८, मंगलवार
विज्ञान तथा प्रविधिमा आधारित शिक्षाका लागि नेपालसँग सहकार्य गर्न जर्मनी इच्छुक

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा. थोमस प्रिन्जबीच मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नविकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको छ।

सो भेटवार्तामा मन्त्री पौडेलले नेपाल र जर्मनबीच सन् १९५८ मा कुटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुलेपछि द्विपक्षीय सम्बन्ध सँधै उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरे।

उनले नेपालमा संघीयता कार्यान्वयनमा आएपछि राष्ट्रिय शिक्षा नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी नागरिकलाई समावेशी एवम् समतामूलक ढंगबाट पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार गरी समृद्ध नेपाल विकासमा योगदान गर्ने उद्देश्य राखिएको जानकारी गराए।

मन्त्री पौडेलले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गरे।

जर्मनीका राजदूत प्रिन्जले नेपालका विद्यार्थीले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताए ।

नविकरणीय ऊर्जा, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा आदानप्रदान लगायतका विषयमा नेपालसँग सहकार्य र सहयोग गर्न इच्छुक रहेको उनले बताए।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...