इलेक्ट्रिक भेहिकलका लागि ५० वटा चार्जिङ स्टेसन ६ महिनाभित्र सम्पन्न गरिने

  • Technology Khabar | ४ मंसिर २०७८, शनिबार
इलेक्ट्रिक भेहिकलका लागि ५० वटा चार्जिङ स्टेसन ६ महिनाभित्र सम्पन्न गरिने

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन ६ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणका अनुसार स्टेशन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ। हाल स्टेसनमा विद्युत् लाइन पुर्याउने काम भइरहेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पुर्याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले छ महिनाभित्र सम्पन्न हुन्छ।”

उनका अनुसार केही स्टेसनमा दुई सय मिटरसम्म लाइन तान्नुपर्छ । जसमा छ ओटासम्म विद्युत् पोल थप्नुपर्छ । केहीमा तीनवटा र केहीमा छवटा सवारी एकैसाथ चार्ज हुने गरी स्टेसन निर्माण भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिनेछ। स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् । विद्युतीय स्टेसनबाट कार आधा घन्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुनेछ। चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफर्मर राखिने छ। टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागिएको हो। एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ लगानी गरिएको छ। ५० वटा स्टेसन निर्माणको लागत ४० करोड रुपियाँ छ। हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछन् । काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा स्टेसन हुनेछन्।

मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ। सबै स्टेसनको नियन्त्रण काठमाडौँबाट हुनेछ। स्टेसनमा खाना, खाजाका लागि रेस्टुरेन्टको व्यवस्था हुनेछ। गोरखापत्रबाट

प्रकाशित: ४ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार