चार वर्षमा पनि सञ्चालन भएन मोबाइल सेवा, नेपाल टेलिकमले पुरानो र काम नगर्ने छाता राख्दा समस्या

  • Technology Khabar | ४ मंसिर २०७८, शनिबार

काठमाडौं ।

हिमालपारिको गाउँ लिमीमा चार वर्षअघि निर्माण भई सञ्चालनमा आउनुपर्ने नेपाल टेलिकमको मोबाइल सेवा अझै सञ्चालन हुनसकेको छैन्।

हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले यतिखेर सञ्चालनमा आउनुपर्ने मोबाइल सेवा टेलिकमले पुरानो र काम नगर्ने छाता दिएकै कारण सञ्चालन हुन नसकेको बताए। टावर निर्माणको जिम्मा पाएको कम्पनीले सबै सामान लिमीमा पुर्याएर जडान गरेको तर छाता पुरानो भएका कारण काम अगाडि बढ्न नसकेको जानकारी उनले दिए । उनले टेलिकमका कारण यसपालि लिमीवासीको मोबाइल सेवा पाउने सपना पूरा हुन नसकेको उल्लेख गरे।

अध्यक्ष तामाङले मोबाइल टावरका लागि अन्य सबै काम पूरा भए पनि नेपाल टेलिकमले जडान गर्नुपर्ने छाता र त्यसका लागि आवश्यक पर्ने उपकरण गतिलो नदिएका कारण नेपालगञ्ज टेलिकम कार्यालयबाट नबुझेको बताए । वडाध्यक्ष तामाङले यी सामानका लागि गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत टेलिकम काठमाडौंँ र क्षेत्रीय कार्यालय नेपालगञ्जमा जाँदा सरोकारवालापक्ष संवेदनशील नभएको पाइएको जनाए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले सामान पुरानो भएर काम नलाग्ने भयो भन्दा उल्टै टेलिकमले अब जेठअघि गर्न नसकिने जवाफ दिएको बताए । छाता ल्याउनका लागि गाउँपालिकाले प्रयास गरेको भए पनि त्यो सफल हुन सकेको छैन ।

उनले टावरका लागि आवश्यक पर्ने अन्य सामान नेपालगञ्जबाट जहाजमा सिमकोट र सिमकोटबाट पैदल तथा हेलिकप्टरबाट लिमी पुर्याएर जडान कार्यसमेत सम्पन्न भइसकेको बताए।

सोलार प्यानल, ब्याट्रीलगायतका सामानलाई सिमकोटबाट १० ट्रिपमा ढुवानी गरिएको र उक्त कार्य गाउँपालिकाको लगानीमा भएकोअध्यक्ष तामाङले उल्लेख गरे ।

अहिले छाताको कामबाहेक मोबाइल टावरका लागि आवश्यक पर्ने संरचनालाई दुई पटक प्राविधिक पुगेर सम्पन्न गरि सकेका छन् । दुईवटा भवनको गत वर्ष निर्माण सम्पन्न भइसकेको छ ।

हाल लिमीमा सञ्चार सम्पर्कको माध्यम भनेकै वर्ल्डलिङ्कको इन्टरनेट सेवा रहेको छ । त्यो पनि घाम लागेको समयमा मात्र सञ्चालन हुन्छ । गोरखापत्रबाट

प्रकाशित: ४ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार