
काठमाडौं ।
नेपालमा सूचना प्रविधिको प्रबर्द्धन गर्न आवश्यक रहेको सरोकारबालाहरुले बताएका छन् । कम्प्युटर एशोसिएशन नेपाल महासंघद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले सूचना प्रविधिको प्रयोग हरेक क्षेत्रमा गर्नुपर्ने भन्दै त्यसमा सबैको सहकार्य आवश्यक हुनेमा जोड दिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले आईसिटीको प्रयोग गरेर डिजिटल इकोनोमिलाई कसरी प्रबद्र्धन गर्ने भन्ने मुख्य चुनौती भएको बताए । उनले आईसिटीको प्रयोग सबै क्षेत्रमा गरिनुपर्ने उल्लेख गरे।
उनले सूचना प्रविधिको उपयोगको बारेमा उदाहरण दिँदै यसले सबै क्षेत्रमा सहज बनाउने बताए ।
“हामीले आईसिटीलाई बिजनेस टू सर्भिसमा लानुुपर्दछ। बिजनेस टू सर्भिसमा जाँदा हाम्रो अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने सेवा क्षेत्रमा सबैभन्दा प्रयोग हुनसक्ने हुँदा यसमा कसरी कनेक्ट गर्ने ?” सञ्चार सचिव अर्यालले भने।
उनले सूचना प्रविधिलाई सूलभ र भरपर्दो बनाउनुपर्ने भन्दै त्यसमा धेरै ध्यान दिन आग्रह गरे। यसमा निजी क्षेत्रले नेतृत्व लिनुपर्ने भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रबर्द्धन गर्न आवश्यक रहेको बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले उच्चस्तरीय सूचना प्रविधिको प्रबर्द्धन नगरी मुलुक बलियो बन्न नसक्ने भन्दै सेवा तथा व्यवसायलाई डिजिटलाइज्ड गर्नुपर्ने बताएका हुन् । अबको युग सूचना प्रविधिको युग भएको भन्दै उनले सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दो डिजिटलाइजेशनमा लैजान सुझाव दिए।
विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै ढकालले यस अवसरलाई सदुपयोग गर्न पनि आग्रह गरे ।
उनले नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र महासंघको भिजन पेपरमा समेत सूचना प्रविधिको विकासलाई प्रमुखताका साथ समेटेको बताए। एफएनसीसीआईको भिजन २०३० मा समेत सूचना प्रविधिलाई महत्व दिएको भन्दै स्टार्टअपलाई समेत सहयोग गर्न तयार भएको बताए।
उनले अहिले कर भुक्तानी समेत अनलाइनबाट गर्न सकिने हुँदा त्यसले सहज भएको भन्दै त्यसमा लिमिट बढाउन समेत अनुरोध गरे।
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार