नेशनल पेमेन्ट स्वीचमा जोडिए २९ बैंक/वित्तीय संस्थाहरू

  • Technology Khabar | २ मंसिर २०७८, बिहीबार
नेशनल पेमेन्ट स्वीचमा जोडिए २९ बैंक/वित्तीय संस्थाहरू

काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति २९ बैंक/वित्तीय संस्थाहरूसँग सम्झौता गरेको छ।

एनसीएचएल तथा सम्बन्धित बैंक/वित्तीय संस्थाका प्रतिनिधिहरूले आज आयोजित कार्यक्रममा सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

नेपाल सरकारको बजेट तथा मौद्रिक नीतीमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी नेपाल क्लियरिङ्ग हाउसलाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्तिक महिनामा प्राप्त भएको हो । यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी हालसम्म १८ वटा वाणिज्य बैकहरु ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तिय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसै गरी अन्य बैंक/वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउदै लैजाने कार्य योजना रहेको कम्पनीले जनाएको छ।

कार्ड बाहेकका भुक्तानी प्रणाली बीच अन्तर आबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदानगरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौता पश्चात यसको कार्यान्वयन अघि बढ्ने एनसीएचएलले उल्लेख गरेको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टर नेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइ मार्फत बैंक वित्तिय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको जनाइएको छ।

प्रकाशित: २ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार