
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीको रेडमी ११टी फाइभजीका केही विवरण तथा सार्वजनिक हुने मिति हालै बाहिर आएको छ।
शाओमीको सहायक ब्रान्डका रुपमा रहेको रेडमीले आफ्नो नोट ११ सिरिज अघिल्लो महिना सार्वजनिक गरेको थियो जस अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो तथा रेडमी नोट ११ प्रो+ मोडलहरु ल्याइएका थिए।
यी डिभाइसहरु हालसम्मका लागि चीनमा मात्र उपलब्ध रहेका छन् भने आगामी वर्षको पहिलो त्रैमासभित्र स्न्यापड्रागन चिपसेटका साथ अन्तरराष्ट्रिय बजारमा पनि उपलब्ध हुने चर्चा चलेको छ।
तर हालै आएको एउटा नयाँ रिपोर्टले भने नोभेम्बर ३० मा रेडमीले नोट ११टी फाइऐजी सार्वजनिक गरेर विश्व बजारमा उपलब्ध गराउने जनाएको छ।
यो जानकारी बाहिर ल्याउने स्रोतले यो डिभाइसमा डाइमेन्सिटी ८१० चिपसेट, ९० हर्ज रिफ्रेश रेटसहितको ६.६ इन्चको फुल एचडी+ डिस्प्ले तथा ३३ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच क्षमताको ब्याट्री रहने पनि उल्लेख गरेको छ।
यस्तै यो ६ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज, ६ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज र ८ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध हुने पनि बुझिएको छ।
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार