
काठमाडौं ।
सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा भएका नवीनतम प्रविधिहरुको बारेमा जानकारी दिने उद्धेश्यले चिनियाँ टेक जायन्ट ह्वावे टेलिकम्युनिकेसन्सले ह्वावे कनेक्ट, नेपाल सेसन आयोजना गर्न लागेको छ।
सूचना प्रविधिको क्षेत्र आफ्ना रणनीतिहरु तथा आविस्कारहरुलाई प्रदर्शन गर्न ह्वावे नेपालले “ह्वावे कनेक्ट, नेपाल” दोस्रो पटक आयोजना गर्न लागेको हो।
यस पटकको इभेन्टलाई “ह्वावे कनेक्ट २०२१, नेपाल सेसन – डाइभ इन्टु डिजिटल” भन्ने नाम दिइएको छ।
यो इभेन्ट आगामी १६ नोभेम्बर अर्थात् कार्तिक ३० गते मंगलबार काठमाडौंमा आयोजना हुँदैछ। इभेन्टमा लाइभ ब्रोडकास्ट तथा डिजिटल प्रदर्शनी गरिनेछ भने सहभागीहरुले सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग साक्षात्कार गर्ने मौकासमेत पाउने जनाइएको छ।
कोरोना महामारीको समयमा डिजिटल प्रविधि विश्वभरका थुप्रै समुदायका लागि काम, शिक्षा तथा स्वास्थ्य जस्ता प्रमुख क्षेत्रहरुकमा निकै सहयोगी सिद्ध रह्यो। महामारीबाट तङ्ग्रिँदै गरेको अवस्थामा एड्भान्स्ड कनेक्टिभिटी तथा कम्प्युटिङ प्रविधिले पहिलेभन्दा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने ह्वावे नेपालका सिईओ विलियम झाङको विश्वास छ।
डाइभ इन्टू डिजिटल थिम रहेको यो इभेन्टमा ह्वावेले नेपालमा रहेका विभिन्न साझेदारहरुसँग मिलेर मोबाइल तथा फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल इनर्जी, क्लाउड सेवा तथा फाइभजीजस्ता सेवाहरुलाई सबैखाले उद्योगमा पुर्याउनेतर्फ व्यवहारिक हिसाबले लागिपर्न शुरुवात गरेको बुझिएको छ।
यसमार्फत् आर्थिक सुधारतर्फ अगाडि बढ्दै गर्दा सबै आकारका उद्योगहरुलाई कसरी अझ प्रभावकारी, विविधतायुक्त र अन्ततोगत्वा अझ बढी उत्थानशील बनाउन सकिन्छ भन्नेमा ह्वावेको मुख्य चासो रहेको बताइएको छ।
ह्वावेले करिब दुई वर्षअघि ललितपुरमा ह्वावे कनेक्ट, नेपाल (Huawei Connect, Nepal) कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा ह्वावेले क्लाउड कम्प्यूटिंग, बिग डाटा, आईओटी र अल्ट्रा ब्रोडब्याण्डलगायतका नयाँ प्रविधिहरुको जानकारी तथा प्रदर्शन गरेको थियो ।
प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार