
काठमाडौं ।
ओस्कार पुरस्कार विजेता निर्देशक सर पिटर ज्याक्सन सह संस्थापक भएको न्यूजिल्यान्डमा रहेको भिजुयल इफेक्ट कम्पनी १ अर्ब ६० करोड डलरमा बिक्री भएको छ।
वेटा डिजिटल नामको उक्त कम्पनीले लर्ड अफ द रिङ्स, अवतार लगायतका चलचित्रमा भिजुयल इफेक्टको काम गरेको र अब भने भिडियो गेम तथा सफ्टवयर कम्पनी यूनिटीले किनेको हो।
यूनिटीले पोकेमन गो तथा कल अफ ड्युटी मोबाइल लगायतका गेमहरुमा काम गरेको छ। उसले यो सम्झाैताले वेटाको स्पेसल इफेक्ट टूलहरु अझ प्रजातान्त्रिक हुने बताएको छ।
‘यूनिटी र वेटा डिजिटलले साझेदारीमा कुनै पनि उद्योगका कुनै पनि कलाकारका लागि यी अद्वितीय सिर्जनशील तथा शक्तिशाली टूलहरुमार्फत् फाइदा लिन मार्ग प्रशस्त गर्न सक्छ , ’ सर पिटरले विज्ञप्तिमा उल्लेख गरेका छन्।
वेटा सन् १९९३ मा सर पिटरले अर्का व्यक्तिसँग मिलेर स्थापना गरेको र उक्त कम्पनीले अवतार चलचित्रको नेरिती, लर्ड अफ द रिङ्सको गोलम तथा प्लानेट अफ एप्सको सिजरजस्ता एनिमेटेड पात्रको सिर्जना गरेको थियो।
‘दक्षिणी गोलार्द्धका लागि वेटा हाम्रो हलिवुडको भर्सन हो’, सिड्नीमा बस्ने चलचित्र समालवचक जेम्स फ्लेचरले बीबीसीलाई बताए।
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार