
काठमाडौं ।
चर्चित गेम फोर्टनाइटको चिनियाँ भर्सन फोर्ट्रेस नाइट यो महिना बन्द हुने भएको छ।
फोर्टनाइट डेभलपर कम्पनी एपिक गेम्स उक्त गेम बन्द गर्नुको कुनै कारण भने उल्लेख गरेको छैन।
हालै कम्पनीले गरेको घोषणामा दुई वर्षदेखि चीनमा परीक्षणका क्रममा रहेको उक्त गेम आगामी नोभेम्बर १५ देखि बन्द हुने बताइएको छ।
चीनमा नियामक संस्थाले बालबालिकाका लागि अनलाइन गेम खेल्ने समयमा सीमामा निकै कडाइ गरेको छ।
लास्ट-प्लेयर-स्ट्यान्डिङ तरिकाको उक्त कम्ब्याट गेममा गत नोभेम्बर १ देखि नै साइन-अप गर्न बन्द गरिसकेको छ। यो कुराको अन्तिम घोषणा आधिकारिक बन्द हुने मितिभन्दा २ हप्ताअघि आएको थियो।
उक्त गेम चीनमा सन् २०१८ मा चिनियाँ टेक जायन्ट टेन्सेन्टसँगको साझेदारीमा सार्वजनिक गरिएको थियो।
फोर्ट्रेस नाइटमा फोर्टनाइटको भन्दा केही परिवर्तन गरिएका छन्। जसको उद्देश्य प्लेयरले गेम खेल्ने समयसीमा तथा गेमका क्रममा सक्कली पैसाले किन्ने गरी गरिने साना साना कारोबारमाथि अंकुश लगाउनु रहेको देखिएको छ।
गत अगस्टमा चीनको भिडियो गेम नियामकले १८ वर्षमुनिका प्लेयरले शुक्रबार, सप्ताहान्त तथा बिदाका दिनमा १ घण्टामात्र अनलाइन गेम खेल्न पाउने नियम ल्याएको थियो।
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार