त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको ल्याब परीक्षणको रिपोर्ट अनलाइनमार्फत हेर्न सकिने

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको ल्याब परीक्षणको रिपोर्ट अनलाइनमार्फत हेर्न सकिने

काठमाडौं ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका प्रयोगशालामा गरिने कुनैपनि परीक्षणको रिपोर्ट अबदेखि अनलाइनबाटै उपलब्ध गराउन थालेका छन्।

ती अस्पतालका बिरामीले आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अस्पतालमै पुग्न नपर्ने र आफ्नो ल्याब रिपोर्ट मोबाइलमै हेर्न पाउने भएका हुन्।

त्रिवि शिक्षण अस्पतालका अनुसार परीक्षणको रिपोर्ट अनलाइनमार्फत पाउनका निम्ति बिरामीले ल्याब परीक्षण शुल्क बुझाएको बिलमा भएको लिंक खोल्नुपर्छ । बिरामीले पाएको बिलमा भएको युजर नेम र पासवर्ड राखेर लगइन गर्दा आफ्नो रिपोर्ट आउने गर्दछ। यसको लागि प्रत्येक बिलमा युनिक युजर नेम र पासवर्ड राखिएको हुन्छ ।

त्यसपछि खोलिएको पेजको माथिल्लो भागको बायाँतर्फ सेलेक्ट स्याम्पल नम्बर अप्सनमा क्लिक गरेर बिलको मिति टाइप गर्नुपर्छ । यति गरेपछि आफ्नो स्वास्थ्य रिपोर्ट मोबाइलमै हेर्न सकिन्छ।

यस्तै वीर अस्पतालले अनलाइनमार्फत प्रयोगशाला परीक्षणको रिपोर्ट हेर्न बिरामीले ल्याब परीक्षणको क्रममा फोन नम्बर वा ईमेल आईडी टिपाउनुपर्ने जनाइएको छ। त्यसपछि सोही नम्बर वा इमेलमा रिपोर्टको लिंक उपलब्ध गराइने अस्पतालले जनाएको छ।

यसअघि निजामती अस्पताल, टेकु अस्पतालसहित केहि सरकारी अस्पतालले समेत अनलाइनमा नै त्यस्तो परीक्षण रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने सुबिधा दिँदै आएका छन्।

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...