
काठमाडौं ।
केही दिनमा चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो रेडमी नोट ११ सिरिज सार्वजनिक गर्दैछ।
सार्वजनिक हुनुअघि यस डिभाइसका बारेमा केही जानकारी बाहिर आएका छन्। बाहिरिएका जानकारीहरु यसको डिजाइन, डिस्प्ले हार्डवयर कन्फिगरेसनका बारेमा सूक्ष्म विवरणहरु रहेका बुझिएको छ।
तर यसको प्रोसेसरको बारेमा कुनै जानकारी छैन। सार्वजनिक हुने मिति नजिकिँदै जाँदा यसमा १२० वाट फास्ट चार्जिङ रहने निश्चित भएको छ।
आधिकारिक घोषणलगत्तै रेडमी ब्रान्डका महाप्रबन्धक लु वेबिङले १२० वा त्योभन्दा माथिको फास्ट चार्जिङ सपोर्ट रहने बताएका हुन्। उनका अनुसार रेडमी नोट ११ सिरिजमा दुई ओटा ब्याट्री तथा दुई ओटा नै चार्जिङ पम्प प्रयोग हुनेछन्।
दुई ओटा ब्याट्री एउटै सिरिजमा जोडिएर एउटा ब्याट्रीको भोल्ट कम गर्ने र यसबाट फास्ट चार्जिङ हुने बताइएको छ। दुई ओटा चार्जिङ पम्पहरु समानान्तर रुपमा कम रेजिस्टेन्स र कम तापक्रमसँग सम्बन्धित हुनेछन्।
यसबाहेक वेबिङले रेडमी नोट ११ सिरिज पातलो र कम ताैलको हुने बताउँदै १२० वाट सिस्टमले पनि यसको मोटाइ र ताैल नबढाउने प्रस्ट पारेका छन्।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार