
काठमाडौं ।
पूर्वाधारका क्षेत्रमा काम गर्ने संस्था आईएसआईएफ एसियाले एसिया प्रशान्त क्षेत्रमा मजबुत आईपीभी६ संरचना निर्माणका लागि अनुदान प्रदान गर्न नेटवर्क अपरेटरहरुसँग आवेदन माग गरेको छ।
संस्थाले आफ्नो ध्यान इन्टरनेट पूर्वाधारमा रहेकाले इन्टरनेटको स्पीड बढाउन, मर्मत तथा सञ्चालन खर्च घटाउन, प्राविधिक र सञ्चालनका हिसाबले विश्वास तथा सुरक्षा बढाउनका साथै एसिया प्रशान्त क्षेत्रको इन्टरनेट उद्योगलाई सहयोग गर्ने उद्देशय रहेको बताएको छ।
आईपीभी६ डिप्लोयमेन्ट ग्रान्ट्स नाम दिइएको यो अनुदानको मुख्य उद्देश्य एसिया प्रशान्त क्षेत्रका नेटवर्क अपरेटरहरुका लागि मजबुत आईपीभी६ पूर्वाधारको विभिन्न चरणका विकासका काममा सहयोग गर्नु रहेको संस्थाले जनाएको छ।
यो अनुदान सबै खाले उद्योग तथा साझेदार समूहका लागि खुलाइएको र तीमध्ये पिछडिएका र दुर्गम क्षेत्रमा आईपीभी६ परिचालन गरेर सामाजिक फाइदाका लागि काम गर्ने संस्थाहरुलाई प्राथमिकतामा राखिने बुझिएको छ।
आईपीभी६ ब्लक भएका संस्थाहरु यो अनुदानका लागि योग्य हुने र अनुदान रकम ३० हजारदेखि २ लाख ५० हजार सम्म रहने बताइएको छ।
इच्छुक आवेदकलाई आफ्नो प्रस्ताव एपीएनआईसी फाउन्डेशनको ग्रान्ट्स एन्ड अवार्ड्स पोर्टलमा गएर बुझाउन संस्थाले आग्रह गरेको छ।
यो आवेदन अक्टोबर १५ बाट लिन शुरु गरिएको र संस्थाको कोष नसकिएसम्म जारी रहने बताइएको छ।
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार