
काठमाडौं ।
चीनले ओएलईडी तथा एलसीडीको बजारमा दक्षिण कोरियालाई उछिन्ने हालै गरिएको एउटा अध्ययनले देखाएको छ।
चीनको डिस्प्ले निर्माता कम्पनी बीओईले आफ्नो साझेदारी एप्पलसँग पनि विस्तार गरेपछि कम्पनीको एलसीडी तथा ओएलईडी बजारको उपस्थिति अझ फैलने आकलन गरिएको छ।
बिजनेसकोरियाको एक रिपोर्ट अनुसार बीओईले ६.१ इन्चको ओएलईडी प्यानलहरु गत महिना आईफोन १३ का लागि पठाउन शुरु गरेको थियो।
यस्ता डिस्प्ले प्यानलको डेलिभरी एप्पलमा केही परीक्षणपछि अझ बढ्न सक्ने अपेक्षा गरिएको छ।
बीओईले यसभन्दा अघि रिफर्बिश्ड आईफोन मोडलहरुका लागि मात्रा ओएलईडी डिस्प्ले पठाउँदै आएको थियो। तर अब भने एप्पलको लागि आवश्यकमध्ये ४० प्रतिशत ओएलईडी प्यानल बीओईले नै आपूर्ति गर्ने बुझिएको छ।
अर्कोतर्फ ओएलईडीको आपूर्ति श्रृङ्खलामा सामसङ इलेक्ट्रोनिक्सको हिस्सा खस्किँदै गएको छ। सन् २०१७ मा चिनियाँ एलसीडी प्यानल निर्माताहरुले दक्षिण कोरियाका निर्माताहरुलाई भेट्टाएका थिए। ओएलईडी प्यानलको बजारमा पनि बीओई मुख्य उत्पादक भएसँगै यस्तै प्रवृत्ति देखिएको छ।
अहिलेसम्मको स्थिति हेर्दा एलजी डिस्प्ले तथा सामसङ डिस्प्ले विश्व बजारमा ओएलईडी उत्पादनका क्षेत्रमा शीर्ष स्थानमा रहेका छन्।
तर यी दुई कम्पनीको प्रगति चिनियाँ प्रतिस्पर्धीका तुलनामा खस्कँदै गएको पाइएको छ। सामसङ र एलजीको वृद्धिदर क्रमश: १२ र १९ प्रतिशत रहेकामा बीओई तथा सीएसओटीजस्ता चिनियाँ कम्पनीहरुको वृद्धिदर क्रमश: २५ र ५२ प्रतिशतको रहेको छ।
यस हिसाबले हेर्दा चिनियाँ कम्पनीहरुले दक्षिण कोरियाली कम्पनीहरुलाई छिट्टै नै उछिन्ने देखिन्छ।
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार