युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

  • Technology Khabar | १३ आश्विन २०७८, बुधबार
युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडौं ।

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो,अन्तरवार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ब्यक्तिहरु पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले महिलाको चरित्र हत्या हुने गरी भिडिओ अन्तर्वार्ता लिएको आरोपमा चार जना युट्युबरलाई आज पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालकाअनुसार विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई बुधबार पक्राउ गरिएको।

त्यसरी पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन्।

उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत चरित्र हत्या हुने गरी तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृणा वा द्वेष फैलाउने सामग्री प्रसारण गरेको आरोपमा अनुसन्धान अघि बढेको ब्यूरोले जानकारी दिएको छ।

काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूमाथि अनुसन्धान गर्न अदालतले अनुमति दिएको ब्युरोले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...